कांग्रेसको नियमित महाधिवेशन गर्न र दोषीलाई कारबाहीको माग

धरान, सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को विशेष बैठकले पार्टीको विधानअनुसार तोकिएको ४ वर्षे कार्यकालभित्रै नियमित महाधिवेशन गर्न माग गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले १४औं महाधिवेशनबाट आएका सबै तहका कार्यसमितिको पदावधि आगामी २०८२ मंसिरमा सकिने भएकाले सो अवधिभित्रै नयाँ महाधिवेशन अनिवार्य गर्ने निर्णय गरेको हो । यदि तोकिएको समयमा महाधिवेशन हुन नसक्ने परिस्थिति सिर्जना भएमा विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनमार्फत नीति र नेतृत्वमा रुपान्तरण गर्नुपर्ने धारणा सभापति तामाङले व्यक्त गरे ।

बैठकले भदौ २३ र २४ गते जेन–जी पुस्ताले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त घटनामा अप्रत्याशित रूपमा ज्यान गएको हुँदा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको बैठकले जनाएको छ ।

त्यस्तै आन्दोलनमा घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट र हातपात गर्नेहरूमाथि समेत कारबाही गर्न बैठकले जोड दिएको छ । साथै आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य भएकाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गर्न माग गरिएको छ ।

बैठकले आन्दोलनका क्रममा धरान–२ स्थित नेपाली कांग्रेसको कार्यालयमा भएको क्षतिको पुनर्निर्माण पार्टी सदस्यहरूको सहयोगमा गर्ने निर्णयसमेत गरेको छ । यसका लागि बैठकले सबैमा स्वेच्छिक सहयोगको अपिल गरेको छ ।

विशेष बैठकमा पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, महासमिति सदस्य तिलक राई, जगतबहादुर कार्की, प्रदेशसभा सदस्यहरू अनिल श्रेष्ठ, मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेललगायतका नेताहरूले विचार व्यक्त गरेका थिए । बैठकमा दर्जनौं स्थानीय नेता–कार्यकर्ता उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित