धरान । धरान उपमहानगर कार्यपालिका स्थगित बैठक सहमति भै पुनः बस्दैछ । आजको बैठकमा मेयर र उपमेयरको कुरा बाझिएपछि स्थगित भएका थिए ।
आज (मंगलबार ) नै नगर सभा राखेपछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा दुईजनाको टकराव भएको हो ।
दिउँसो १ बजेको लागी नगरसभा बोलाइएको थियो । नगरसभामा बजेट संशोधनको लागी भनेर विषय समितिले निर्णय गरी प्रस्ताव अनुमोदन गर्न बैठकमा राख्न खोज्दा विवाद भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । वडा कार्यालयहरुबाट आएको बजेट संशोधन गर्नेबारे सहमति जुटेका थिए । तर उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिले विभिन्न बिषयगत समितिमार्फत आएको संशोधनको प्रस्ताव पनि पेश भएको थियो । तर यसरी ल्याएको सिधै कार्यपालिका बैठकमा पेश गर्न नपाईने जिकिर मेयरको थियो । उनले कार्यपालिका बैठकमा प्रस्ताव आफुमार्फत मात्र आउने भन्दै उक्त रकमान्तरको प्रस्ताव स्वीकार्य नहुने अडान लिएपछि मेयर र उपमेयर मात्र बाझाबाझ भएका थिए ।
उपमेयरले कानुन वमोजिम र प्रक्रिया अनुसार बिषयगत समितिमार्फत आएको प्रस्तावलाई बजेट तर्जुमा समितिले रकमान्तरको प्रस्ताव कार्यपालिकामा निर्णयार्थ ल्याएको जिकिर थियो । थाहै नदिई बैठकमा प्रस्ताव ल्याउन नपाइने भन्दै डिपिआर शिर्षकको बजेट अन्यत्र लैजान नहुने र मेयर कोषलाई पनि बजेट थप गर्न रकमान्तर गर्नुपर्ने बताएका थिए ।
यसै क्रममा वडा नं १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईले मेयर साम्पाङलाई हिटलर र नश्लवादी चरित्र भएको आरोप लगाएका थिए । यसरी भट्टराईले भन्दा हो मा हो मिलाएका थिए अन्य सदस्यहरुले पनि । हिटलर आफु नभएको भन्दै सटाकसुटुक घुमाउरो पारामा एजेन्डा ल्याउनेहरु हिटलर भएको जवाफ मेयरले दिए । वडा नं १५ का अध्यक्ष नरेश इवारमले बजेट रकमान्तरबारे २ वटा प्रस्ताव आएकोले मेयर, उपमेयर, बिषयगत समितिका संयोजकहरुबीच बैठक बसेर सहमति कायम गरेर ल्याउन सुझाव दिएका थिए । सोहि सुझाव वमोजिम बैठक स्थगित गरेका थिए ।
बैठक सौहार्दपुर्ण बनाउन र आजको नगरसभा समेत संचालन गर्न भन्दै पुनः बैठक बस्ने सबै तयारी भैसकेको छ ।
Discussion about this post