धरान । लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिको दोस्रो अन्तराष्ट्रिय महासम्मेलन धरानमा हुने भएको छ ।
सम्मेलन बारे आज (आइतबार ) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । “अस्तित्वको लागि एकता” भन्ने मूल नाराका साथ २०८० चैत्र ६ गतेदेखि १० गतेसम्म हुने जानकारी दिए । महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स लगायत विश्वको विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने जनाएको छ । जहाँ एक सय जना सभासदस्यहरु अन्तराष्ट्रिय सभामा सहभागी हुनेछन् । लिवि मञ्च स्थापना भएको २५ औं वर्षगाठ पूरा भएको युप्पा तङ्बे (रजत जयन्ती) को अवसर पारेर चैत्र ६ गते केःलाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्यालीसहित सम्मेलनको उदघाटन समारोह हुने जानकारी दिए ।
सभामा लिम्बु भाषाको ईतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्क्रम निर्माण र विकासक्रम, किरात धर्म र सस्कार संस्कृति, समुदायमा युमा धर्म र दर्शनको प्रभाव, लिम्बुवानको किपट व्यवस्था, भूमि अभिलेखिकरण र अधिग्रहण, लिम्बुवानको मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा, लिम्बुहरुको प्रथाजनित कानुन, संघीयता र जनसंख्याको राजनीति, लिम्बु चलचित्र र साहित्य, मुन्धुममा समाजशास्त्रीय पक्ष, खेलकुद, पत्रकारिता, लिम्बुहरुको शैक्षिक अवस्था, लिम्बुहरुको आर्थिक अवस्था, राजनीतिक संघर्षको अवस्था, अन्तराष्ट्रिय कानुन र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवान आन्दोलन, वर्तमान पहिचानको आन्दोलन, द्वन्द्व शान्ति र विकास, भारतमा रहेका लिम्बुहरुको अवस्था, विश्वको विभिन्न देशमा रहेका लिम्बुहरुको अवस्था, लगायत विभिन्न २२ वटा भन्दा बढी विषयहरुवारे कार्यपत्र प्रस्तुत हुने र त्यसबारे बृहत रुपमा छलफल हुने जनाएको छ ।
चैत्र ९ गते सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ । चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए ।
लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन २०७३ कात्तिक २, ३ र ४ गते लिम्बुवानको दमकमा सम्पन्न भएको थियो । तत्कालीन महासम्मेलनकै निरन्तरताको स्वरुप यो दोस्रो महासम्मेलन आयोजना गर्न लागिएको हो। विश्वमा रहेका लिम्बु विद्यार्थीहरुलाई भावनात्मक रुपमा एकीकृत गर्न र याक्थुङ लिम्बुहरुसँग सम्बन्धित विभिन्न पक्षहरुमा बृहत छलफल गरी समुदायलाई एकताबद्ध गर्ने दोस्रो महासम्मेलनको प्रमुख उद्देश्य हुने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए ।
Discussion about this post