पाकिस्तानमा भर्खरै कुरानविपरित हुने कुनै पनि वैज्ञानिक नियम नपढाउनु भनेर आदेश गरिएछ । कुनै जमानामा चर्चले पनि त्यस्तै आदेश गर्नेगर्थ्यो भन्ने कुरा ऐतिहासिक सत्य हो ।
धार्मिक कट्टरता हानिकारक विषय हो । धर्मले मानिसहरुबिच भेदभाव गर्न सिकाउँछ । मेरो र तेरो भन्न सिकाउँछ । अन्ध आस्थाको व्यापार गर्छ । धर्मको कुनै जाति हुदैन तर धार्मिक अन्धताले फलानो जातिको धर्म फलानो वा तिलानो हो भन्ने संकिर्ण सोचको विकास गराउँछ ।
जातिको अलग धर्म हुन्छ भन्ने मान्यता गलत हो । जुनसुकै जातिको मानिसले एक्लै वा समूहगत रुपमा जुनसुकै धर्म अपनाउन सक्छ ।
डा.अम्बेडकरको नेतृत्वमा पाँच लाख दलित (अछुत) हरु एकैसाथ पुरानो धर्म परित्याग गरेर बौद्ध धर्ममा समाहित भएका थिए ।
अरबको अरवी जाति मात्र होइन इण्डोनेसियाको एसियन जाति (मङ्गोल) ले पनि इस्लाम अपनाएको छ ।
बुद्ध, इस्लाम र इसाई धर्ममा सामेल नभएको संसारको सायदै कुनै जाति बचेको होला ।
प्राचिनतम भएर पनि एउटा जातिमा सीमित रहेको संसारकै एउटा मात्र धर्म जुडाइज्म हो । यहुदी धर्मले यहुदी जातिबाहेक संसारको अर्को कुनै जातिलाई आकर्षित गर्न सकेको छैन ।
हिन्दू धर्ममा पनि उस्तै कट्टरता छ तापनि हिन्दू धर्म सिद्धान्तत: एउटै जातिको धर्म मानिदैन । हिन्दू धर्म मान्ने मानिसहरुको बसोबास भएका मुलुक भारत र नेपाल मात्र हुन भन्दा फरक पर्दैन । यी दुबै मुलुकमा जातीय विविधता छ । त्यसैले हिन्दू धर्म कुनै एउटा जातिको पेवा हुनबाट बचेको हो ।
हिन्दू धर्मको पुरानो नाम “ब्राह्मण धर्म” हो । त्यसैले यस धर्ममा ब्राह्मणको हैसियत अरुको भन्दा माथि मानिन्छ । नेपाल समेत हिन्दूस्तानका सबै जातिलाई हिन्दू धर्म खुला छ भनिन्छ तर वास्तविकता त्यस्तो होइन ।
जुनसुकै मानिस हिन्दू हुनसक्छ तर ब्राह्मण बन्न पाउँदैन । व्यवहारिक वास्तविकता त्यही हो । भारतको इतिहासमा बाहिरबाट आएका शक, हुण, कुषाणहरुलाई रजपूतको मान्यता दिइएको इतिहास प्रमाण छ ।
र नेपालमा केही थरका क्षत्रीहरुलाई झर्रा क्षत्री र बाँकीलाई तल्लो स्तरका क्षत्री मानेजस्तै भारतीय रजपूतहरु अन्य स्थानीय क्षत्रीभन्दा अब्बल मानिन्छन । ब्राह्मणहरुबीच पनि समानता छैन। ठूलो सानो भन्ने सामाजिक भेदभाव अभ्यासमा छ ।
बहु देवता, बहु सम्प्रदाय र बहु जातीयता हिन्दूधर्मका विशेषता मानिन्छन । हिन्दू समाजमा ४ वर्ण र अनेक जात छन । हिन्दू धर्ममा जोसुकैले प्रवेश गर्न पाउने भए पनि त्यसरी धर्म लिनेहरु शूद्र मानिन्छन । तिनले जनै पाउँदैनन ।
हिन्दू धर्मको जात विभाजन गलत अभ्यास हो । सबभदा नराम्रो र गलत परम्परा छुवाछुत हो । मूलत: अछुतहरु अहिन्दू समुदायका हुन । कुनै कारणबाट जातिच्युत भएका र हिन्दू समुदायमा सामेल गर्न अयोग्य ठराइएका मानिसहरुलाई वर्णेत्तर समुदायमा राखिएको हो । त्यसलाई पञ्चम वर्ण भनेर निकैपछि नाम दिइएको हो । धर्मशास्त्रको कुनै पनि पुस्तकमा पञ्चम वर्णको उल्लेख भेटिदैन ।
मानव समुदायबीच विभाजन ल्याउने मुख्य कारक धर्म हो । धर्मको नाममा यो धर्तिमा सबभन्दा धेरै रगत बगेको छ । ठूला लडाईहरु भएका छन । त्यसैले धर्म र धार्मिकता त्याज्य विषय हुन ।
मानव समाजमा ५ हजार वर्षपूर्व धर्मको अस्तित्व थिएन । समाज विकासको एउटा चरणमा धर्महरुको उदय भएको हो । अर्थात धर्म र देवता मानिसले सिर्जना गरेको हो । धर्म इश्वरप्रदत्त कुरा होइन । त्यसैले धार्मिक नीति नियमहरु परिमार्ज गर्न हुदैन वा सकिदैन भन्नु घोर अन्ध आस्था हो ।
Discussion about this post