दशै ऐतिहासिकता बलिप्रथा एक चर्चा – चन्द्रप्रकाश वानिया

दशैं कति पुरानो
गोर्खाले नेपाल एकीकरण गर्नुपूर्व गोर्खापश्चिम महाकालीसम्म बाइसी चौबीसी नामका ससाना राज्यहरु थिए । चौबीसीमध्येको एउटा बलियो राज्य “१६ हजार पर्वत” मानिन्थ्यो ।

पर्वत राज्यकालका ताम्रपत्र, दानपत्र, स्याह मोहर, चिठीपत्र समेत करिब चार दर्जन लिखतहरु फेला परेका छन ।
दशै, तिहार जस्ता पर्वहरुको ती कुनै लिखतमा उल्लेख भेटिदैन । फागु पूर्णिमामा तीन छत्ते चिर गाडेको र आफ्नो नक्कल गोर्खाले गरेको हुनाले पर्वतले गोर्खा विरुद्ध आक्रमण गरेको कुराको प्रसङ्ग भने भेटिन्छ ।

अर्थात आजकाल होली भनिने “फागु पर्व” भने पर्वत राज्यकाल अर्थात वि.सं. १४९३ – १८४३ सम्म महत्वका साथ मनाउने गरेको प्रमाण पाइन्छ ।

दशै पर्व न ऐतिहासिक न वैदिक ?
दशैं पर्वको पक्ष चलिरहेको छ । नेपालका श्रव्यदृश्य सञ्चार माध्यमहरुले दिनहुँ “आज फलानो तिथि, वैदिक विधि अनुसार फलानी देवीको पूजा आराधना गरियो, यसरी वा उसरी मनाउने पौराणिक चलन छ” भनेर फलाकेको सुनिन्छ ।
हो, देवी र दानवहरुको कथा पुराणहरुमा लेखिएका छन । देवीको कथा लेखिएको पहिलो पुराण “मार्कण्डेयपुराण” हो भनेर मानिन्छ ।

त्यसैले देवी दानवको कथा पौराणिक कथा मानिन्छ तर दशै मनाउने परम्परा कुनै पुराणकथामा उल्लेख भएको भेटिदैन । दशैमा मनाइने देवीपूजालाई के को आधारमा पौराणिक भनिएको होला कुन्नी ?

दशै पर्व मनाउने विधि अर्थात देवी पूजाको बारेमा कुनै वेदमा उल्लेख भएको भेटिदैन । न राम कथा वेदमा छ, न चन्द्रघण्टा शैलेश्वरी आदि नाम गरेका देवीहरु नै वेदमा फेला पर्छिन । कुन आधारमा सञ्चार माध्यम र सम्वादमा उपस्थित पण्डित विद्वानहरुले देवीपूजा र दशैलाई वैदिक विधि वा परम्परा भनेर दावी गर्छन कुन्नी ?

दशै वास्तवमा सामाजिक पर्व हो । लोक पर्व हो । रामायण र देवीको कथा पछि कुनै समयमा जोडिएको हुनुपर्छ ।
देवी र दानवको कथा दशैसंग कहिले जोडियो भन्ने तिथिमिति किटान हुदैन ।त्यसैले ऐतिहासिक पर्व भन्ने ठाउँ पनि देखिदैन ।
वेदव्यासले अठार पुराण लेखेका थिए भनिन्छ । आजकाल व्यासकै नामबाट लेखिएका पुराणहरुको संख्याले सय नाघिसकेको छ । कुन्चाहीँ आधुनिक पुराणमा दशै पर्वको बारेमा उल्लेख भएको होला ? कसैलाई जानकारी छ कि ? छ भने सूचना पाउँ न । खोजेर पढ्नुपर्ला ।

बलीप्रथा प्रारम्भको कथा
दशै बलीपूजा हो । बलीपूजा ब्राह्मण धर्मको व्यवस्था हो । अर्थात बलीप्रथा बाहुनहरुको माँस भोजनको तृष्णा तृप्तिको लागि गरिएको व्यवस्था हो । त्यसको बलियो प्रमाण मनुस्मृतिले दिन्छ ।

मनुस्मृतिको ५/३६ मा भनिएको छ :
असंस्कृतान् पशून्मंत्रैर्नाद्याद्विप्र: कदाचन ।
मन्त्रैस्तु संस्कृतानद्याच्छाश्वतं विधिमास्थित: ।।
ब्राह्मण पनि मानिस नै हुन । उनीहरुलाई पनि अरुले जस्तै आमिषभोजन खान मनलाग्छ । अर्थात मांसभोजन ग्रहण गर्न मनलाग्नु स्वभाविक हो तर मन्त्रद्वारा संस्कारित नगरिएको मांसभोजन शास्त्रद्वारा ब्राह्मणका लागि निशिद्ध गरिएको हुनाले बलीयज्ञको व्यवस्था गरिएको हो ।

ब्राह्मणबाहेक अन्य वर्णका लागि हिन्दू शास्त्रहरुले मांस भोजनका लागि कुनै सर्त बन्देज गरेको देखिदैन । त्यसैले ब्राह्मणहरुकै लागि बलि प्रथाको व्यवस्था गरिएको हो भन्न सकिन्छ ।

बलीबाट देवता प्रशन्न हुन्छन भन्ने मान्यता बिल्कुल गलत हो । ब्राह्मणको एउटा अर्थ भू-देवता पनि हुन्छ । अर्थात मर्त्यलोक(पृथ्वी) का जीवित देवता भनिने हुनाले ब्राह्मणलाई खुसी बनाउन बलियागको व्यवस्था गरिएको हो । त्यही प्रथा कालान्तरमा आम बन्न गयो । तेह्रौ शताब्दीपछि ब्राह्मणले मांस भोजन गर्नुहुदैन भन्ने कलिबर्ज्य नियम बन्यो ।
हिन्दू धर्मको उद्गम भारतभूमि हो । भारतमा बङ्गाल र मिथिलाञ्चल बाहेक अन्यत्रका बाहुन समुदायमा मांसभोजन बर्जित रहेको सामाजिक प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित