नबिन रम्तेल
असोज २० ।धरान उपमहानगरपालिका वडा नं ८ को दुर्गापथ टोल विकास संस्थाको आयोजनामा ९६ युनिट रगत संकलन भएको छ।
जुनियर पायोनियर स्कुल अगाडी भएको रक्तदान कार्यक्रममा स्थानीय सरकारका उपप्रमुख आईन्द्र बिक्रम बेघा प्रमुख अतिथी रहनु भएको थियो।
दुर्गापथ टोल विकास संस्थाले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन गर्ने लक्ष्य राखेता पनि ९६ युनिट संकलन भएकोले उत्साहित बनाएको कुरा दुर्गापथ टोल विकास संस्थाका अध्यक्ष सुबास श्रेष्ठले बताउनु भयो।वहाँले आगामी बर्ष पनि यस खालका कार्यक्रम गरिरहने बताउनु भयो।
धरानमा गत यो बर्ष डेङ्गुले आक्रान्त पारेको अवस्थामा रगतको अभाव ज्यादै भयो।एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ । यद्यपि मान्छेहरु रक्तदान गर्नमा उति जागरुक छैनन्, जति यसको महत्व र जरुरी छ ।यदि तीन महिनामा रक्तदान गर्ने हो भने शरीरमा नयाँ रगत बन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ भन्नु हुन्छ आयोजक संस्थाका अध्यक्ष श्रेष्ठ ।
स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छ । रगत शरीरमा लगातार उत्पादन हुने तत्व हो, जुन प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जाने गर्छ ।
नेपालमा दैनिक २५० युनिट रगतको आवश्यकता पर्दछ । तर केन्द्रमा २ सय युनिट मात्रै रगत संकलन भईरहेको बताउनुहुन्छ स्वास्थ कर्मी हिमाल यावागु।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ८ नं वडाध्यक्ष धनबहादुर राई,रा.स्व.पा. धरान उपसभापति अभियन्ता शरिन ख्योङ्ग्वा तामाङ्ग,जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी,अस्थायी प्रहरी पोष्ट तिनकुने र बरगाछीका प्रतिनिधिहरु समेतको उपस्थिति थियो।
कार्यक्रमको सह आयोजक सहयोगी युवा समुह धरान रहेको जानकारी उदय श्रेष्ठले बताउनु भयो।
Discussion about this post