विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली गर्ने भएपछि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै निषेधित क्षेत्र घोषणा गरिएको हो । विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विरोध, धर्ना, जुलुस आयोजना गरिएको भनदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको सूचनामा उल्लेख छ ।
सूचना अनुसार प्रदेशसभादेखि पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र रहेको छ । त्यसैगरी मुखयमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा तोकिएको क्षेत्रमा सर्वसाधरण तथा सवारी साधन आवात जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली , धर्ना जस्ता बिरोधका कार्यक्रमहरु गर्न निषेध गरिएको जनाएको छ । सूचनामा निषेधाज्ञाका उल्लंघन गरिए कानून अनुसार कारबाही हुने पनि उल्लेख छ ।
प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली गर्ने जनाउँदै आएको थियो ।
Discussion about this post