नेपालमा पहिचानको बिरुद्धमा देखिने मूलत: बाहुन र क्षेत्रीहरु हुन् – चनद्रप्रकाश बानिया

पहिचान भन्ने शब्द सुन्नासाथ एजर्जी हुने मानिसहरु नेपालमा बग्रेल्ति देखिन्छन् ! साँचै पहिचान भन्ने शब्द बेकामे अछुत नै हो त ?!!

हरेक मान्छेको नामकरण गरिन्छ । नाम राख्दा पनि सकभर अरुसंग नजुझोस भनिन्छ । नाम राम्रो र फरक होस किन भनिन्छ ? किनकि नाम व्यक्तिको पहिचान हो । नामले मानिसलाई भिडबाट अलग पहिचान दिन्छ ।

एउटै घरमा बाजेबज्यैदेखि नातिनातिनासम्म हुन्छन । नातो पनि पहिचान हो । घरका सबै लोग्ने मान्छेलाई छोरा र महिलाहरु सबैलाई नातिनी भन्यो भने के हुन्छ ? परिचय कसरी खुट्टिन्छ ।

संघसंस्था गठन गर्दा सबैलाई सभापति बनायो भने के हुन्छ ?
जनावरहरु सबैलाई एउटै नामबाट बोलाउने गर्‍यो भने के हुन्छ ? कुकुर, बिरालो, घोडा, मुसो, मृग, बाघ, भनेर छुट्टिने उसको जाति नामबाट होइन ?!!

रामायणका हनुमानले सिङ्गो द्रोणाचल पर्वत उचालेर लङ्का पुर्‍याएको कथा किन लेखियो ? द्रोण नामको बुटीको पहिचान गर्न नसकेर होइन ?

मान्छे मान्छे सबै एकै हो भने एक देशबाट अर्को देशमा आउजाउ गर्न किन पासपोर्ट भिसा चाहियो ? किन थर गोत्र राष्ट्रियता चाहियो ?

संयुक्त राज्य अमेरिका नामको एउटै मुलुकमा अमेरिकन, हिस्पानिक, रेडइन्डिएन, एसिएन, निग्रो भनेर मानिसलाई किन चिनिन्छ ?

नेपालमा पहिचानको बिरुद्धमा देखिने मूलत: बाहुन र क्षेत्रीहरु हुन् । पहिचान नचाहिने हो भनेर जनै भिरेर बाहुन क्षत्री के का लागि भएको हो ? हिन्दू भनाउने रहर केका लागि हो ? त्यो पहिचान खोजेको होइन ?!! आफूहरुहरुलाई पहिचान चाहिने अरुलाई नचाहिने हुन्छ ?

खस जातिलाई तथ्याङ्क विभागले अलगै पहिचान नदिने षड्यन्त्र किन गर्‍यो ? आफ्नो जाति पहिचान ठूलो होस्, स्पष्ट देखियोस भन्ने तुच्छ आग्रह होइन ?

जाति, धर्म, लिङ्ग, थर, गोत्र, राष्ट्रियता, रङ्ग, पद, जात सबै पहिचान हुन् । ती सबै त्यागेर बुद्ध बन्न कोही तयार छ ? कोही पनि छैन । अरुलाई पहिचानको जरुरत छैन भनेर पैरवी गर्ने अभिजात वर्गीय चिन्तन बोक्ने खसबाहुनहरुलाई आफ्नो पहिचान प्रिय छैन ?!!

आफूलाई भने आफ्नो जात, धर्म, भाषा, संस्कार, संस्कृति मेटिन्छ कि भन्ने चिन्ता लाग्छ भन्ने कुरा लाज नमानिकन सार्वजनिक गर्ने ? अरुलाई चाहिँदैन, पहिचानको कुरा गर्ने विखण्डकारी हुन, समाज द्रोही हो, डलरे हुन, पश्चिमाका दलाल हुन भन्न शरम मान्नु पर्दैन ?!!

पहिचान मान्छेको मात्र होइन जनावरदेखि वनस्पतिसम्मको चाहिन्छ । भूगोलको पनि चाहिन्छ । जातिको पनि चाहिन्छ । इतिहासको पनि हुन्छ । स्स्कार संकृतिको पनि हुन्छ । मानिससंग जोडिने सबै चीजको पहिचान हुन्छ ।

हटाउनुपर्ने जातिपहिचान होइन, विभेद हो । ठूलो सानो भन्ने अहङ्कार हो । भूमिलाई समेत आफ्नो आर्जन ठान्ने पाखण्ड हो । हटाउउनुपर्ने त्याग्नुपर्ने कुराहरु च्यापिरहने, आवश्यक कुरा चाहिंदैन भनेर उल्टो बाटो कति कुद्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित