धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानको सुरक्षालाई लक्षित गर्दै २४ घण्टे निशेधादेश जारी गरिएको छ ।
जिल्ला प्रशासन सुनसरीले सार्वजनिक सूचना जारी गर्दै धरान प्रवेश गर्ने चारवटा नाकालाई सिमांकन गर्दै निशेधादेश जारी गरिएको छ । आदेशमा मिति २०८०।०४।२६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेङ्गो संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई “जनस्वास्थ्य आपतकालीन् अवस्था'(Public Health Emergency) क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको उल्लेख छ ।
आदेशमा उपमहानगरपालिका क्षेत्र धार्मिक / साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली / भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन भनिएको छ । धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत क्षेत्रमा समेत लागु हुने गरी निषेधादेश जारी गरिएको उल्लेख छ । यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने पनि आदेश सूचनामा जनाएको छ ।
निशेधित क्षेत्र :
१)धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र न.पा. १ मा पर्ने झण्डा चोक देखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराहक्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र ।
२) इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र ।
३) धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र ।
४) धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रः ।
Discussion about this post