धरान । गोरु काटिएको विषयलाई लिएर हिन्दुबादिले विरोध गरेपछि संविधानको बर्खिलाप गरेको भन्दै बाध्य भएर जनप्रतिरोध गर्ने चेतावनी दिएको छ ।
सोमबार ईलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज भट्टराईमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । १६ घटकले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा विभेदकारी कानुनको आधारमा संविधानको बर्खिलाप हुनेगरी निरन्तर दमन गरियो भने त्यसको सशक्त जनप्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ ।
सार्वजनिक स्थलमा सम्मान गर्दै गोरुको मासु सामूहिक भोजन गरेको विषयलाई लिएर साम्प्रदायिक गतिविधि र अभिव्यक्तिहरु आउन थालेका भन्दै यो निकै निन्दनीय विषय भएको उल्लेख छ । सांस्कृतिकरुपले स्वीकार गरिएको खाद्यवस्तुलाई कानुन वा कुनै कोणबाट हेरेर फरक धारणा बनाउनु वा द्वेश फैलने धारणा सार्वजनिक गर्नु हिंसाको प्रारम्भिक रुप भएको ठहर गरेको छ ।
संविधानको भाग–१ को धारा–१ को उपधारा १ मा ‘संविधान नेपालको मूल कानुन हो । यस संंविधानसङ्ग बाझिने कानूनहरु बाझिएको हदसम्म अमान्य हुनेछ ।’
नेपालको संविधान (२०७२ )ले आफ्नो प्रस्तावनामा– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विषयलाई आत्मसात गरी विविधताबीचको एकता, समाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै संविधान जारी गर्दछौं ।’ उल्लेख भएको जनाएको छ । यसको अर्थ नेपाल बहुजातीय देश भएकोले यहाँ सांस्कृतिक विविधता पनि छ भनेर स्वीकार्नु हो भन्दै जिकिर गरिएको छ ।
त्यसैगरी संविधानको भाग–१ को धारा–१ को उपधारा १ मा ‘संविधान नेपालको मूल कानुन हो । यस संंविधानसङ्ग बाझिने कानूनहरु बाझिएको हदसम्म अमान्य हुनेछ ।’ भनेर लेखिनुले पनि एउटा सांस्कृति समुदायले गरेको सांस्कृतिक गतिविधि कानुनमा दायरामा नआउने स्पष्ट भएको दाबि गरिएको छ ।
ज्ञापनपत्रमा नेपालीबीचको सद्भाव भड्काउने यस्ता तत्वहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन पनि माग गरिएको छ । अन्यथा, साम्प्रदायिक विचारहरुले भविष्यमा ल्याउन सक्ने घटनाको जिम्मेवार स्वयम् सम्बन्धित पक्ष हुने कुराको सचेत गराएको छ ।
पत्र बुझाउदै नेपाल आदिवासी जनजाति महासंघ धरानका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले यसअघि जस्तो उच्छृङ्खल तरिकाले नभै संयमित भएर निरन्तर गोरु काटिने बताए । उनले चिसेफायुलाई प्रतिक्रिया दिदै राप्रपाका राजेन्द्र लिङ्देनले संविधान बिपरित राजतन्त्रको कुरा गरेको भन्दै कार्वाही हुनुपर्ने चुनौती दिए । राष्ट्रिय जनमुक्ति पार्टीका सचीव बिष्णु थाम्देनले धरानमा मात्र नभै गाईगोरु सम्बन्धी कानुन संशोधन गराउन देशभर नै गोरु काट्ने अभियान हुने बताए । मंलबारेमा भएको सार्वजनिक खुलेआम रुपमा गोरु काटेर भोज गर्ने समुहका युवा सिवाहाङ राई,करुन राई,डेबिड थेगिम सिर्जना बेघा लगायत सामाजिक संजालमा भनिएजस्तो फरार नरहेको बताए । भागेर फरार हुने नभइ निरन्तर धरानमा दैनिक दुईवटा बढि गोरु काटिरहेको दाबि गरे । उनिहरुले दमन गर्दै र कानुन संशोधन नगरे चोक चोकमा गोरु काट्ने चेतावनी दिए ।
इलाका प्रशासन कार्यालयका प्रमुख अनुज भट्टराईले आजसम्म कस्ले गोरु काट्छ कस्ले खसि काट्छ भनेर आफु र आफ्ना मातहतका पुलिस नपठाएको बताए । भट्टराईले सबैलाई संयमित हुन पनि आग्रह गरे । उनले प्राप्त पत्रलाई इमेल गरी मन्त्री समक्ष पठाउने आश्वासन दिए ।
Discussion about this post