दिपेश सार्की
मोरङ । कानेपोखरी गाउँपालिका–५ का ३० वर्षीय शिवचन्द्र यादव आज सोमबार बिहान नालीभित्र मृत अवस्थामा फेला परेकाे छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए अनुसार यादव लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल चलाएर उत्तरबाट पूर्व–दक्षिणतर्फ जाँदै गरेको अनुसन्धानबाट खुलेको छ ।
यादवको शव र उनले चलाएको मोटरसाइकल बिहान ६ बजेतिर नालीभित्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी भण्डारीका अनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल नालीभित्र खस्दा चालकको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको थियाे ।
मोटरसाइकल अनियन्त्रित भएपछि टाउको विश्रामस्थलमा ठोक्किएर मोटरसाइकलसहित नालामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।घटनास्थलबाट उठाएर शवलाई प्रहरीले पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल ट्रमा सेन्टर लगेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए ।
Discussion about this post