नबिन रम्तेल
धरान । धरान उपमहानगरपालिका वडा नं ८ को सभागृहमार्ग टोल विकास संस्थाको खोज र नष्ट गर अभियान अन्तर्गत घर कम्पाउन्डमा पसेर डेङगुको रोग सार्ने लामखुट्टे बासस्थानको खोजी गरेको छ।
शनिवार गरिएको खोजी अभियानका क्रममा चिसो पेय पदार्थको खाली बोतललाई काटेर बनाईएको फुलदानीमा बढी मात्रामा डेङ्गोको लार्भा भेटिएको थियो ।
धरान सभागृह आसपासबाट शुरु भएको सर्च एन्ड डिस्ट्रोए अभियान सभागृहमार्ग टोल विकास संस्थाका अध्यक्ष खड्ग बहादुर विश्वकर्माको संयोजकत्वमा भएको थियो । धरान उपमहानगरपालिका वडा नं ८का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यमा अभियानको औचित्य प्रष्ट पार्दै अभियान बिहान ७:०० बजेदेखी संचालन गरि पिपलचोकमा आएर टुंगिएको थियो।
धरान अहिले डेङ्गो रोगको महामारीले थिल्थिलो भएको छ।अभियानका क्रममा हरेक घरमा १ जनादेखी ३ जनासम्म डेङ्गो रोगका बिरामी पाईएको थियो।जमेको पानी,खुल्ला राखिएको पानीको ड्रममा जमेको पानी पोखाइएको थियो भने घरघरमा यो रोगको बारेमा सचेतना गराईएको थियो।२५ जना भन्दा बढिको सहभागितामा उक्त अभियान भोलि बिहान ७ बजेदेखी नै पिपलचोकबाट दक्षिण सभागृहमार्ग टोल विकास संस्थाका सचिव बलिन्द्र विश्वकर्माले बताए।
वडाध्यक्ष धन बहादुर राई,कार्यपालिका सदस्य शाबित्रा परियार शुरु देखि अन्त्य सम्मै सहभागी भै डेङ्गो रोग सार्ने लामखुट्टेलाई परास्त गर्न सुझाव दिएका थिए। धरानमा अहिले अस्पताल,निजि क्लिनिकले मात्रै उपचार धान्न नसकी धरान उपमहानगरपालिकाले धरान सभागृहमा नि:शुल्क परिक्षण गर्ने गरेको छ भने १३ नं वडा कार्यालयमा समेत उपचारको प्रबन्ध मिलाएको छ। त्यसैगरी वडा नम्बर १४ मा पनि निशुल्क उपचार भैरहेको छ ।
डेङगु एडिस एजिप्टी र एडिस अल्बोपिक्टस नामको लाम्खुट्टेको टोकाइबाट संक्रमण फैलाउने गर्दछ।डेङगु भाईरस संक्रमितलाई टोकेको लामखुट्टेले अर्को ब्यक्तिलाई टोकेमा झन् सहजै डेङ्गु सर्दछ।डेङगु ज्वरोको गम्भीर रूप, जसलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मृत्यु पनि निम्त्याउने कुरा विशेषज्ञले जनाएको छ ।आँखाको भित्री भाग दुख्नु,वाकवाकी लाग्नु,बान्ता गर्नु,हातगोडा कट्कटी खानु,छालामा डाबर देखिनु डेङगुको लक्षण हुन्।
डेङ्गु रोगको खास उपचार छैन, लागिहालेमा प्रशस्त झोलिलो पदार्थ पिउने,बढी आराम गर्ने, ज्वरो नियन्त्रण गर्न प्यारासिटामोलको मात्रै प्रयो गर्ने जस्ता कुराहरु संयोजक तथा टि एल ओ अध्यक्ष विश्वकर्माले अभियानमा बताउनु भयो।
Discussion about this post