शिङ्सा क्षेत्रमा व्यापक कोदो र धान रोपाइँ (तस्बिर सहित )

शिङ्सालुङ ( संखुवासभा ) । संखुवासभा जिल्लाको उत्तरी चीन सीमा जोडिएको ऐतिहासिक शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिकामा ब्यापक कोदो र धान रोपाइँ भएको छ । हिमाली काखमा समेत कृषि उत्पादन राम्रोसँग हुने भएकै कारण त्यस क्षेत्रलाई शिङ्सा लुङ्ब भनेको हो । शिङ्ग्को अर्थ बारी हुन्छ भने सा को अर्थ माटो हुन्छ । बारीमा काम गर्ने खेति किसाने भएकै कारण त्यहाँका बासिन्दालाई शिङ्साबा भनिएका हुन ।

तराई पहाडमा असार १५ मनाईरँहदा शिङ्सा क्षेत्रको तत्कालीन हटिया चेपुवा च्याम्ताङ लगायतका गाउँहरुमा कोदो,धान रोप्ने काम भएको छ । त्यहाँको धान रातो हुन्छ । मानो खाई मुरि तुल्याउने समय भन्दै बिहानीपखदेखि नै धान कोदो रोपाइँमा लागेको कुरा स्थानीय एलिना सेच्या बताउँछन । बिहानी खाना समेत खेतबारीमा नै लगेर एकैचोटि बेलुकी मात्र घर फर्किन्छ ।

च्याम्ताङ (दम्दाङ ) गाउँमा त धेरै वर्ष अघि रोपाइँ गर्ने समुह संगठन नै स्थापना भएका थिए । त्यसतो समुह समयमा बारीमा पुग्ने अनि समयमा फर्किने नियम राखिएका छन । जसले गर्दा समयको समानता हुने गरेको पाईन्छ । यस्ता समुहलाई स्थानीय शब्दमा युवाक भन्ने गरिन्छ । यस्ता समुह विभिन्न फरक उमेरका फरक फर्क समुह रहेका छन । बिभिन्न नाम दिएर गठन गरिएका यस्ता संस्था समुहले अग्रीम मितिमा रोपाइँको निवेदन दिएका हुन्छन् । यसरी निवेदन दिएपछि क्रमिक रुपमा सुचि हुन्छ फलानो गते मितिमा फलानो सदस्यको रोपाइँ भनेर जानकारी दिइन्छ । त्यहाँ उमेरको समेत निर्धारण गरिएको हुन्छ । तोकिएको उमेर भन्दा कम र बढि भए जरिवानाको व्यावस्था समेत गरिएको हुन्छ ।

यस क्षेत्रमा उत्पादन भएका अन्न धेरै पहिले तिब्बत लाने गर्थे । तत्कालीन समयमा चीन र तिब्बत छुट्टाछुट्टै थिए । तिब्बतमा शिङ्सा लुङ्बबाट अन्न हस्तकला काठ लाने गर्थे । तर समय परिवर्तन भएको छ । यतिबेला चीन सम्पन्न देश बनेको छ । चीनबाट नै खाद्यान्न लत्ताकपडा सबै आईरहेको छ । किमाथांका नाका हुँदै चीन स्वशासित क्षेत्र तिब्बत छिर्ने गरिन्छ । तर यतिबेला किमाथांका नाका बन्द छ । कोरोनाको कारण देखाउदै बन्द गरिएको नाका हालसम्म खुलेको छैन ।

शिङ्सा क्षेत्रमा यतिबेला खेतिकिसानमा कम ध्यान दिएको पाईएको छ । अत्याधिक मात्रामा कोदो र आलु उत्पादन हुने यस क्षेत्रमा पछिल्लो समयमा बाँझो बारी देखिन थालेको छ । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट चामल पुग्न थालेपछि स्थानीयमा काम गर्ने जाँगर घटेको स्थानीय बताँउछन ।

यतिबेला बिराटनगर किमाथांका राजमार्ग शिङ्सालुङ्बको च्याम्ताङ (दम्दाङ) हुँदै ट्र्याक छुनसुरसम्म पुगेको छ । ट्र्याक्टरले मालसामान दम्दाङ्सम्म लाने गर्दछ । किमाथांका ट्र्याक खन्न अव करिब १४ किलोमिटर बाँकी छ ।( तस्बिर सौजन्य : एलिना सेच्या )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित