बिराटनगर । कोशि नाम खारेजी आन्दोलनले एमाले नेतृत्व हिक्मत कार्किको सरकार ढलेपछि नयाँ सरकार गठन गर्नको लागि प्रदेश प्रमुखबाट बिहिवार अपरान्ह ५ सम्म्को समय दिएको छ ।
प्रदेश प्रमुखको कार्यालय बिराटनगरबाट आइतबार बिज्ञप्ति जारी गर्दै असार २१ गते बिहीबार अपरान्ह ५:०० बजेभित्र प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबि गर्न आव्हान गरेको छ ।
नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वा उपधारा (३) बमोजिम मध्ये कुन उपधाराको आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नको लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी प्रदेश प्रमुखबाट महान्यायाधिवक्तासँग कानूनी राय माग गरेको थियो । महान्यायाधिवक्ताबाट मिति प्राप्त रायसमेतको आधारमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री दाबि गर्न आह्वान गरेको जनाएको छ ।
बिज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २०७९ पौष २४ गते नियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८० असार १४ गते प्रदेश सभामा विश्वासको मतको लागि राखिएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम २०८० असार १५ गते पारित हुन नसकी वर्तमान मुख्यमन्त्री पदमुक्त भएको उल्लेख छ ।
के छ संविधानमा :
नेपालको संविधानको (२०७२) को धारा १६८ को प्रदेश मन्त्री परिषद गठन सम्बन्धि व्यावस्थामा यस्तो लेखिएको छ ।
(१) प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ। (२) उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।
(३) प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।
(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(५) उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।
(६) उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
(७) उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ ।
(८) यस संविधान बमोजिम भएको प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।
(९) प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको बीस प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद गठन गर्नेछ।
स्पष्टीकरण:
यस भागको प्रयोजनका लागि मन्त्री भन्नाले मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।
(१०) मुख्यमन्त्री र मन्त्री सामूहिक रूपमा प्रदेश सभाप्रति उत्तरदायी हुनेछन् र मन्त्रीहरू आङ्गनो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा मुख्यमन्त्री र प्रदेश सभाप्रति उत्तरदायी हुनेछन्।
Discussion about this post