धरानमा लागु पदार्थ दुर्व्यसन को अवस्था – नबिन रम्तेल

जति दिन ढल्दै जान्छ त्यति मन कुडिदैं जान्छ धरान -११,सोलिङ्गका ६० वर्षीय मिठे सार्कीको। झन् २०७९जेठ १२ गते उनको जीवनको काहालीलाग्दो दिनले त उनलाई मर्माहत पार्ने गर्छ उनको एक मात्र ३२ वर्षे छोरा सन्दिप लम्जेलको विभत्स हत्याले। दुईजना १३ वर्षे र १७ बर्षिय दुर्ब्यसनी बालकहरु  हत्याराको रुपमा सार्वजनिक भै केहि दिनमै छुट्दा झन् पिरोलिन्छ्न्। “दुईजना दुर्ब्यसनी बालकले मात्रै मेरो हात्ती जस्तो छोरा लाई मार्न त के एउटा तिघ्रो पनि उठाउन सक्दैन थिए”भन्छन्  तर उनैले मारे भनेर पत्याउन दिनुपरेको छ,आखिर के सम्बन्ध ती हत्याराहरुसँग मेरो छोराको भन्दै भक्कानिए।

धरान-८ अरुणटोलकी ३९ वर्षकि अन्जु प्रधानको पीडा पनि कम छैन उनको छोरालाई धरानको महँगो विद्यालयमा पढाउन उनका श्रीमान विदेशमा श्रम गर्छन् तर छोरो विद्यालय,घर गाउँ र समाजमा झगडा गर्ने,घरमा भन्दा पनि बढी समय प्रहरीको थुनामा बस्ने,कहिले झगडाको केसमा त कहिले लागू पदार्थ दुर्ब्यसनको केसमा।छोराले सारै पिर दिएकोले बेलैमा बुद्धि पुर्याउन नसकेकोमा आफै पछुतो गर्छिन्।

भानुचोक एरियामा रातपरेपछी सडक बालबालिकाहरु डेन्ड्राईट सुँघ्ने,होहल्ला गर्ने,मनपरि बोल्ने,घरबाहिर छुटेका सामान चोरी गर्ने,फोहोरको थुप्रो प्लास्टिकजन्य पदार्थ बटुल्ने बहानामा छरपस्ट पारी दुर्घन्धित पारिदिने जस्ता व्यबहारले आजित बनेका छ्न् घरधनी बिनोद रम्तेल। आफ्नो ३ बर्षे सानि छोरीले समेत कहिलेकाहीं तिनै दुर्ब्यसनी सडक बालबालिकाको जस्तो भाषा बोल्दा झस्किन्छ्न्।

यि त  एक प्रतिनिधि पात्र मात्रै हुन् मिठे सार्की ,अन्जु प्रधान र बिनोद रम्तेलका जस्ता पिडा हुने धरानमा हजारौं अविभावकहरु छन्। मानिसमा लत सिर्जना गरी दुर्ब्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ हो। शारीरिक र मानसिक स्वास्थ्य चेतना र अनुभूतिलाई विकृत तुल्याउने लागुपदार्थ हो र सो पदार्थको अनावश्यक प्रयोग  नै दुर्ब्यसन हो।उमेर अनुसारको कौतुहलता र उत्सुकताले लागू पदार्थको दुर्ब्यसनमा युबाहरु फस्ने गरेको पाईन्छ । तनाव ,चिन्ता ,असफलता,विभिन्न समस्याहरुबाट मुक्त राख्न लागू पदार्थ प्रयोग गर्ने गर्छ्न् शुरु शुरुमा।आज प्रयोग गरेको लागुऔषधको मात्राले त्यस्को एक महिना पछि त्यत्तिनै मात्राले नपुग्न सक्छ किनकी उसको पचाउने क्षमतामा वृद्धि हुन्छ भन्छ्न् पूर्व लागू औषध प्रयोगकर्ता रोजन नेपाली।यस्तो अवस्थामा उ शारीरिक र मानसिक रुपमै लागू पदार्थ मै भर पर्न थाल्छ।

 गाँजा, चरेस,अफिम,भाङ ,धतुरो ,रक्सी, नाइट्रोसन, भ्याट, प्रओक्सिभोन,नोफिन,कोडिन,कोरेक्स, फेनकोडिन जस्ता साईकोट्रपिक सब्स्ट्यान्सहरु लागुपदार्थ भित्र पर्ने गर्छन् जसले मानव शरिरलाई भ्रामक  र उत्तेजक बढाउने गर्छ। लागुपदार्थ नेपालमा ओसारपसार गर्न बिक्रीवितरण गर्न बन्देज गरिएको छ।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २५जना महिला पुरुष दुर्ब्यसनी रहेको पाइएको छ भने प्रदेश नं १ मा ५सय ९२ महिला सहित २७ हजार ६सय ५जना महिला पुरुष रहेका छन्। वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको छ भने सन् २०२० सम्म धरानमा लागू पदार्थ दुर्ब्यसनीहरु १५०० जनाको हाराहारीमा रहेको र बिश्वब्यापी कोरोनाकाल पछिको तथ्यांक यकिन गर्न नसकिएको जानकारी KYC पुनर्जीवन केन्द्रका बित्तिय प्रशासक ताजुब लिम्बुले बताए।

धरान-६, पानवारीमा बि.सं २०७५ साल चैत १ गतेदेखि सञ्चालनमा आएको आसरा सुधार केन्द्र लागु पदार्थ दुर्व्यसनमा फसेकाहरुको उपचारमा स्थापना भएको एक मुनाफारहित गैरसरकारी संस्था हो। जसमा हाल ९१ जना १८ देखि ५५ वर्ष उमेर समूहका दुर्ब्यसनीहरु रहेका छ्न्।  ४ महिने उपचारपश्चात् पुनर्जीवन पाएर खुसीसाथ फर्किने गरेको बताउँछन् त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक अनिल प्रसाद भण्डारी। आफूलाई सकारात्क राखौं अर्थ बोकेको “आसरा” समुदाय-प्रहरी साझेदारी कार्यक्रमद्वारा सञ्चालनमा आएको लागु औषध प्रति वितृष्णा उत्पन्न गराउने र सुधार गर्ने उद्देश्य भएको संस्थाले समाजमा पुनर्स्थापनाको भुमिका गरिरहेको छ।

धरान-१६, मा रहेको नव आस्था पुनर्जीवन केन्द्र जाँडरक्सी तथा लागु औषध उपचार केन्द्रमा १६-६१ वर्षसम्मका  १६ जना लागु  पदार्थ दुर्ब्यसनिहरु उपचाररत रहेको र ४ महिने प्याकेजमा उपचार गरिने बताउँछन् त्यहाँका प्रशिक्षक मधुर बस्नेत।उनी पनि पूर्व लागू औषध प्रयोगकर्ता रहेको उनले निर्धक्क जानकारी गर ।

धरानमा लागु पदार्थ दुर्ब्यसन र सोको कारण सिर्जना भएका अपराधका घटनामा आर्थिक वर्ष ०७७/०७८मा ५७ मुद्दा दर्ता भए ८३ पक्राउ परे,त्यस्तै आर्थिक बर्ष ०७८/०७९ मा ५५ मुद्दा दर्ता भै ८३ पक्राउ परे भने त्यस्तै चालु आर्थिक वर्ष ०७९/०८०को अन्त्यमा ५३ मुद्दा दर्ता र ७० पक्राउ परेको तथ्यांक ईलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक सागर श्रेष्ठ बाट जानकारी प्राप्त भएको छ।

धरान भर्ती केन्द्र भएको लाहुरेहरुले रुचाएको शहर।लाहुरेहरु परदेशमा रहँदा आफ्नो परिवार बालबच्चा घरमा रहन्थे।घरमा अभिभावक बिहिन लाहुरेका छोराछोरी दुर्व्यसनमा फसेर जीवन बर्बाद गर्न थालेपछि  KYC  किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र सञ्चालन गरिएको थियो।हाल धरान -१६ मा रहेको यस पुनर्जीवन केन्द्रमा १६ देखि ६५ बर्ष सम्मका १७ जना दुर्ब्यसनीहरु ३ महिने उपचारमा रहेको त्यहाँ कार्यरत रन्जित मगरले बताए।

तर आजभोली परिस्थिति फेरिएको छ अत्याधिक सुकुम्बासी बस्ती, बेरोजगारी समस्या , देखासिखीले धनीका भन्दा गरिबका छोराछोरी कुलतमा बढी मात्रामा फस्ने गरेको कुरा कार्यपालिका सदस्य शाबित्रा परिवार बताउँछिन्।

नेपालमा २ सय ४० भन्दा धेरै सुधारगृहहरु हुनुमा लागु पदार्थ दुर्व्यसन न्युनिकरण हरेक समुदाय संघसंस्था र हरेक व्यक्ति आफैं लागे मात्र सम्भव हुने,यो राज्य एक्लैले सम्भव नहुने कुरा समुदाय प्रहरी साझेदारी कार्यक्रम सचेतनामूलक कार्यक्रम सञ्चालनमा प्रशिक्षण दिइरहेका प्रहरी सहायक निरिक्षक रुद्र खड्का बताउँछन्।

धरानमा लागु पदार्थ दुर्ब्यसन र सोको कारण सिर्जना भएका अपराधका घटनामा आर्थिक वर्ष ०७७/०७८मा ५७ मुद्दा दर्ता भए ८३ पक्राउ परे,त्यस्तै आर्थिक बर्ष ०७८/०७९ मा ५५ मुद्दा दर्ता भै ८३ पक्राउ परे भने त्यस्तै चालु आर्थिक वर्ष ०७९/०८०को अन्त्यमा ५३ मुद्दा दर्ता र ७० पक्राउ परेको तथ्यांक ईलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक सागर श्रेष्ठ बाट जानकारी प्राप्त भएको छ।

धरान उपमहानगरपालिकाले बिगतदेखी नै हरेक बर्ष लागू पदार्थ दुर्ब्यसन तथा जनचेतना कार्यक्रमको बजेट छुट्याउदै आईरहेको छ।  आ.व.०७६/०७७ मा लागु पदार्थ दुर्ब्यसनीहरुलाई पुनःस्थापनामा समन्वय शिर्षकमा १ लाख ५० हजार रुपैयाँ। बिनियोजन ऐन २०७७ मा बिद्यालय केन्द्रित लागू पदार्थ दुर्ब्यसन तथा जनचेतना कार्यक्रममा ७५ हजार।आ.ब.०७८/०७९मा धरान उपमहानगरपालिका वार्ड नं १ बाट लागुपदार्थ दुर्ब्यसनी युवाहरुलाई अभिमुखिकरण कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ हालसम्म खर्च नभएको यसै हप्ता ३ वटा कलेज तहका बिद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गरिने जानकारी वडा सचिव रमेश राईले जानकारी दिए।

धरान उपमनपा वडा नं ४ मा लागुपदार्थ दुर्ब्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम अन्तरगत १ लाख ४० हजार रुपैयाँ।वडा नं ६ बाट ६० हजार रुपैयाँ ।वडा नं ८ मा ३० हजार रुपैयाँ छुट्याइएको भएपनी बजेट अभावमा भै सक्नुपर्ने कार्यक्रम हुनसकेको छैन र अब हुने सम्भावना शुन्य भएको जानकारी वडा सचिव टिकाराम निरौलाले जानकारी दिए। ।वडा नं १६ ले ४० हजार रुपैयाँ  र वडा नं १८ ले ५० हजार रुपैयाँ लागुपदार्थ दुर्ब्यसनी सम्बन्धि सचेतना कार्यक्रमको लागि बिनियोजन गरेको छ।

उक्त परिणामको बजेट धरानको सन्दर्भमा हात्तीको मुखमा जिरा जस्तै भएको भन्छिन् अरुणटोल बिकास संस्थाकि पूर्व अध्यक्ष सीता राई।उनले गाउँ गाउँमा सचेतनामुलक,अभिमुखिकरण कार्यक्रम व्यापक रुपमा गर्नुपर्ने, युवाहरुलाई समेट्ने किसिमको कार्यक्रम ल्याउनु पर्ने र अझैपनि ढिला गर्ने हो भने दुर्ब्यसनीको शहर भनेर धरान चिनिन थाल्छ त्यसैले सबै अभिभावक,सरोकारवाला निकाय,संघसंस्था लाग्नुपर्ने बताईन्।

धरानका खोला खोल्सी र बाक्ला बस्तीहरुमा लागू
ओसारपसार र बिक्रीवितरण हुँदै गरेकोमा हाल  चारकोसे जंगलमा दुर्ब्यसनीहरुको बाक्लो जमघट हुने गरेको बताए दुर्गापथ टोल बिकास संस्थाका अध्यक्ष सुबास श्रेष्ठले।जनप्रतिनिधि सहित ईलाका प्रहरी कार्यालयका डि एस पि समेतलाई राखेर कार्यक्रम गर्दा पनि चाहिने मान्छे नआउने,घरपरिवारकाले मुखै नखोल्ने,बुढाबुढि,केटाकेटी मात्रै सहभागी हुने,दिनहुँ एउटा न एउटा प्रहरीको जिम्मा लगाउँदा पनि दुर्ब्यसनीहरुको हुल देखेर आजित भएको समेत उनले बताए।

धरानमा विभिन्न सामाजिक संघसंस्थाहरुले लागुपदार्थ दुर्ब्यसन सम्बन्धीका कार्यक्रमले प्रभावकारीता नबढाएका भने होईनन्।भरखरै धरान वडा नं ४ र मिडिया हबको संयुक्त आयोजनामा २ दिने जनचेतनामूलक कार्यक्रमले लक्षित बर्गलाई समेट्न सकिएको बताउँछन् प्रशिक्षक संचारकर्मी रणध्वज लोहार।ईलाका प्रहरी कार्यालयबाट र पुनर्जीवन केन्द्रबाट समेतबाट प्रशिक्षक भएकोले उक्त कार्यक्रम निकै फलदायी भएको समेत बताए।

त्यसो त निर्वाचित भएसँगै धरानका मेयर हर्कराज राईले हरेक शुक्रबार लागुपदार्थ दुर्ब्यसन बिरुद्ध जनचेतनामुलक अभियान सन्चालन गर्दै आईरहेका छ्न्।यसरी एकातिर जनचेतनामूलक कार्यक्रममा बजेट छुट्याउन नसकिनु ,छुट्टिएका बजेटमा पनि कार्यक्रम हुन नसक्नुले झन् धरानमा लागू पदार्थ दुर्ब्यसनीहरु विकराल रुपमा फैलिरहेका छ्न्।सकेसम्म  पक्राउ नै नपर्ने,परिगए पनि सेवनकर्ताको रुपमा फितलो कानुनका कारण छिट्टै छुटिहाल्नुले झन् समस्या भोग्नु परेको छ भन्छन् उप्का नेपालका धरान सचिव बिजय आछामी।

लागू पदार्थ दुर्ब्यसनका कारणहरु:
बिशेष गरि युबायुबती लागू पदार्थको दुर्ब्यसनमा दिनदिनै फस्दै गईरहेका छ्न्।उनिहरुको देखासिखी गर्दै टिन एजका केटाकेटीहरु लठ्ठिएर हिडिरहेको देख्न सकिन्छ।समाज विकासको बाधकको रुपमा लागु पदार्थ दुर्ब्यसनीहरु भयावह रुपमा फैलिरहेको अवस्था छ।यस बारेमा निकृष्ट श्रममा लागेका बालबालिकाको हितमा काम गर्ने संस्था उप्का नेपालका धरानका सचिव बिजय अछामीका अनुसार मानसिक तनाव,पारिवारिक समस्या र साथिहरुको दबाब नै मुख्य कारणहरु रहेको बताउँछन्।यो बस्तु प्रयोग गर्दा कस्तो होला भन्ने उत्सुकताले,आफू भयंकर हुँ भन्ने देखाउन,आफू खुशी आफु पनि रमाउन तथा  पढाईमा समस्या भएको कारण पनि लागू पदार्थ दुर्ब्यसनको कारण नै देख्छ्न् उनि।

लागु पदार्थ दुर्ब्यसनका समस्या/असरहरु:
कुनै पनि ब्यक्ति लागु पदार्थ दुर्ब्यसनी हुन्छु भनेर प्रयोगकर्ता भएको हुदैन तर निरन्तरता दिदैं जाँदा शारीरिक र मानसिक रुपले लागु पदार्थ मै निर्भर हुन पुग्दछ।उमेर अनुसार नयाँ नयाँ कुराहरू परिक्षण गर्न मन लाग्नु स्वभाबिकै हो। यो चिज प्रयोग गर्दा के होला कस्तो होला भन्ने कौतुहलता जाग्ने गर्दछ तथापि समस्याको बारेमा बुझ्न जरुरी हुन्छ यसै सन्दर्भमा स्वास्थ चिकित्सक हिमाल यावागुका अनुसार लागू पदार्थ दुर्ब्यसन गर्नेहरुलाई एच.आई.भि, हेपाटाईटिस,यौनजन्य रोगहरु,दुब्लाउँदै जाने,अरुची,सुन्निनेजस्ता शारीरिक समस्या देखिने र ओभरडोज भएर मृत्यु हुने देखिन्छ।एकहोरोपन,फ्रस्टेसन,डिप्रेसन,सोच्ने क्षमतामा ह्रास,नकारात्मक सोचमा वृद्धि,बहुलाउने,आत्महत्या गर्न मन लाग्ने जस्ता मानसिक  समस्या देखिन सक्छ भन्छ्न्।यसका साथै परिवारमा असमझदारी बढ्ने,सामान चोरी हुने, दिनहुुँ झै झगडा हुने,कलह,असहयोग,रिस,अनैतिक कार्य,अपराध,परनिर्भरतामा वृद्धि ,गरीबी बढ्ने,बेरोजगारी विकास निर्माणमा मन नलगाउनु,नेतृत्व प्रती चासो नरहने जस्ता समस्या देखिने बताउँछन् बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी दिनेश यादब।

समाधानका उपायहरु:
धरान उपमहानगरपालिका वडा नं ९ का  वडाध्यक्ष रुपेश आचार्यका अनुसार समाजमा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले  धरानका लागू औषध सेवन तथा कारोवार हुने मुख्य मुख्य स्थानहरुमा विशेष सुरक्षा योजना बनाई प्रहरी परिचालन गरिनु पर्दछ यसका साथै ब्यक्ति सुधार कार्यक्रम प्रभावकारी बनाईनु पर्दछ,सचेतनात्मक कार्यक्रम प्रभावकारी बनाईनु पर्दछ लागू पदार्थको स्रोतको पहिचान गरि न्यूनीकरण गर्नु पर्दछ,पारिवारिक वातावरण सुमधुर बनाएर समाधान खोज्नु पर्छ भन्छ्न्।राजनितीक बिष्लेषक मनोहर सुब्बाका अनुसार सानै उमेरबाट असल संस्कार सिकाउने जसका लागि पहिला आफै संस्कारयुक्त बन्ने,स्वास्थ्य र सुरक्षाको अनुभुति प्रदान गर्ने,बालबालिकाका बारेमा सकारात्मक सोच, विचार र व्यबहार प्रस्तुत गर्ने।आफ्ना बालबालिकाका आवश्यक कुराहरू  ठिक समयमा पूरा गरिदिने बताउँछन् । आफ्नो समय र अहिलेको समयको तुलना गरि गाली नगर्ने,एउटै कुरा बारम्बार दोहोर्‍याएर दिक्क नपार्ने।उपेक्षा,तिरस्कार,यातना बन्द गरि आवश्यक सल्लाह सुझाव दिने,आत्म विश्वासी,आत्मनिर्भर,स्वाबलम्बी बन्न प्रेरित गर्न सके लागू पदार्थ दुर्ब्यसन पक्कै न्यूनीकरण गर्न सकिने सुझाव दिन्छन् मिजार समुदाय महासंघ प्रदेश उपाध्यक्ष धन बहादुर हमाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित