धरान । बाह्रौं राष्ट्रिय जनगणना २०७८ को जातजाति भाषा,धर्मको तथ्यांकले युमा धर्म, मष्टो धर्म र शिङ्सा समुदायको तथ्यांक राज्यद्वारा विभेदकारी र षडयन्त्रपूर्ण कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
धरानमा आइतबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै युमा धर्म,मष्टो धर्म र शिङ्साबाको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक नगरेको भन्दै एकल पक्षलाई पक्षपोषण गर्न लागेको प्रष्ट भएको जनाएको छ । चन्दा देवि थापा केन्द्रीय सदस्य मष्टो धर्म संस्कृति संरक्षण समिति, नेपाल,निमा पोङस्युवा अध्यक्ष शिसा कल्याण केन्द्र धरान, सुनसरी,देवेन्द्र कुमार वनेम लिम्बु अध्यक्ष युमा साम्यो महासभा, नेपालद्वारा संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै जेठ १९ गते सार्वजनिक गरिएको तथ्यांकप्रति असन्तुष्ट जनाउदै मिथ्यांक भनिएको छ ।
जारि बिज्ञप्तिमा नेपालको संविधान २०७२ अनुसार नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । यस संविधानले नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकारको प्रत्याभूत गरेको छ। संविधानको धारा १८ को समानताको हकको उपधारा २ र ३ अनुसार राज्यले नागरि कहरुका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, भाषाका आधारमा भेदभाव गरिने छैन भनिएको छ । धारा ३२ को भाषा तथा संस्कृतिको हकको उपधारा २ अनुसार प्रत्येक व्यक्ति वा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ । धारा ५० अन्तर्गत राज्यका निर्देशक शिद्धान्तको उपधारा २ बमोजिम धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विवेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामुलक समाजको निर्माण गर्ने भन्ने उल्लेख छ । त्यसैगरी मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय अनुबन्धको धारा १८ र सबै प्रकारका असहिष्णुता र धर्म वा आस्थामा आधारित भेदभाव उन्मूलनसम्बन्धी घोषणापत्रद्वारा समेत धर्म वा आस्थाको स्वतन्त्रताको ग्यारेन्टी गरिएको उल्लेख छ ।
१२ औ राष्ट्रिय जनगणना २०६८ मा जातिमा याक्थुङ लिम्बु, मातृभाषा र पुर्खाको भाषामा याक्थुङ / लिम्बु लेखाउन युमा साम्यो नेपालको पहलले सफल भएको दाबि गरिएको छ । तर हजारौ र लाखौंको संख्यामा जनगणनाका उत्तरदाताहरुले लेखाएका युमा धर्मको नामोनिसान राष्ट्रिय तथ्यांक विभागले मरिमेट गरिदिएको आरोप लगाएको छ ।
त्यसैगरी खस जाति लगायतको मष्टो धर्म र शिङ्सा समुदायको जाती भातृभाषामा शिङ्सा लेखाएकोमा आकडा नै नआउनु घोर आपतिजनक भएको जनाएको छ। जातजाति, भाषा र धर्म सम्बन्धमा हामी सरोकारवालाले पटक पटक सही र सत्य गणना र सूचिकरणका लागि माग, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र दर्ता गराएका थियौ, व्यक्तिगत र सामूहिक रुपमा भेटघाट र छलफल गरेका थियौं तर उक्त विषयलाई सधै उपेक्षा र सुनियोजित ढंगबाट बहिष्कार गरिएको हामीले महसुस गरेका छौं भनिएको छ ।
राष्ट्रिय तथ्यांक विभागमार्फत नेपाल सरकारलाई माथि उल्लेखित विषयमा यथाशिघ्र सत्यतथ्यको आधारमा यथार्थ र वास्तविक तथ्याङ्क सार्वजनिक गर्न जोडदार माग गरिएको छ । यदि हाम्रो आस्था, विश्वास र भावनासँग जोडिएको मौलिक धर्मलाई वेवास्ता गरिएमा यसवाट उत्पन्न हुने हरेक परिस्थितिको जवाफदेहीता राष्ट्रिय तथ्यांक विभागले लिनुपर्ने भनिएको छ । वास्तविक आकडालाई राष्ट्रिय तथ्यांक विभागले अविलम्ब दुरुस्तरुपमा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।
यस विषयमा केन्द्रिय तथ्यांक विभाग काठमाडौमा समेत आइतबार ध्यानाकर्षण गर्न लिखित रुपमा पुग्दा तथ्यांक विभागका जिम्मेवार कर्मचारीहरु एकहप्तासम्म बाहिर रहने भए पछि थप जानकारी तथा छलफल हुनसकेन ।
Discussion about this post