काठमाडौ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी विकास कोषमा ठुलो भ्रस्टाचार अनियमितता भएको आशंका गर्दै १५ दिने विवरण माग गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ ७ गते निर्णय उल्लेख गर्दै जनगुनासो आएको भन्दै १३ बुँदामा विवरण मागिएको छ । लुम्बिनी विकास कोषमा गैरकानुनी ढंगले विभिन्न क्रियाकलाप गरेको जनगुनासो आएको भन्दै कार्वाही अगाडि बढाएको छ ।
१३ बुँदामा महायान पोखरीमा गुरुयोजना विपरीत अनाधिकृत ढंगबाट बुद्ध मुर्ति बनाउन दिएको,विभिन्न प्लटहरु बदनियतपूर्ण ढंगले आफुखुसी वितरण गरेको जनगुनासो आएको उल्लेख छ । त्यसैगरी पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको विषयमा स्पष्टीकरण सोधिएको छ ।
त्यसैगरी लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरुले दिएको रकमको यथार्थ विवरण समेत देखाउन भनिएको छ । लुम्बिनी विकास कोषमा ठुलो भ्रष्टाचार भएको आशंका गर्दै मन्त्रालयले सत्यतथ्य विवरण मागेको हो ।
यस्तो छ १३ बुँदे विवरण :
(१) लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजना विपरीत अनाधिकृत ढंगबाट बुद्ध मुर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मुर्ति बनाउन दिइएको हो होइन? दिनुपर्ने हो होइन? दिइएको भए अवलम्बन गरिएको कानूनी प्रक्रिया तथा निर्णय सम्बन्धी विवरण पेश गर्ने ।
(२) विभिन्न प्लटहरु बदनियतपूर्ण ढंगले आफुखुसी वितरण गरेको भन्ने गुनासो प्राप्त भएको छ । सो विषयमा के भएको हो? हालसम्म वितरण भएको सो सम्बन्धी निर्णय एवं अपनाइएको मापदण्डसहित विवरण पेश गर्ने ।
(३) सोक्यो जापान लगायतका सम्झौताहरुको समयसीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएको, तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौता अनिश्चित कालका लागि आफुखुसी समयावधि बढाउदै लगिएको गुनासो आएको छ । सो सन्दर्भमा यथार्थ के हो ? कुन कुन संस्थासँग के कस्ता सम्झौता भएका छन् ? तिनीहरुसँग भएका सम्झौता तथा थप भएको अवधि सम्बन्धी विवरण पेश गर्ने ।
(४) मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको भन्ने गुनासो प्राप्त भएको छ । सो सम्बन्धमा यथार्थ के भएको हो ? कुन विधि, पद्धति, प्रक्रिया अवलम्बन गरिएको हो ? सन्दर्भसहित विस्तृत विवरण पेश गर्ने ।
(५) लुम्बिनी विकास कोष परिसरभित्र के कति संस्थाहरुले काम गरिरहेका छन् ? तिनीहरुको नवीकरणको अवस्था ‘ पेश गर्ने । यदि नवीकरण नभएका संघ संस्थाले काम गरिरहेका छन् भने के कस्तो विधि/ पद्धति र प्रक्रिया अवलम्बन गरी काम गर्न दिईएको हो ? साथै लिज वा भाडामा दिएका संस्थाहरुको विवरणसहित खुलाई पठाउने । ‘
(६ ) कोषभित्र हालेँ के कति निर्माण परियोजनाहरु सञ्चालन भइरहेका छन् ? तिनीहरु कुन कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाई ठेक्का दिएको हो ? सो को विवरण पेश गर्ने ।
(७) हाते वहाँ निर्माण भइरहेको संरचनाहरु गुरुयोजना अनुरुप नभएको गुनासो रहेकाले कहाँ कहाँ कुन कुन संरचनाहरु गुरुयोजना विपरीत बनेका छन् ? पछिसम्म फरक नपर्ने गरी सोको विवरण पेश गर्ने । साथै तहाँबाट अघि बढाइएको लगभग तीन अर्बको ठेक्का लुम्बिनी गुरुयोजना अनुरुप छ कि छैन ? इस्टिमेट तयार गर्दा गुरुयोजना विपरीत धेरै विषय रहेको भन्ने सूचना प्राप्त भएकाले के कति कारणले उक्त कुराहरु भएका हुन्। यथार्थ पेश गर्ने ।
(८) लुम्बिनी विकास कोषको परिसरभित्र मोटरबोट संचालनका लागि कुन कानून, विधि, प्रक्रिया अवलम्बन गरी दिइएको हो ? यसले वायु र ध्वनि प्रदूषण गरेको गुनासो प्राप्त भएको छ । यस सम्बन्धमा के भएको हो ? विस्तृत विवरण पेश गर्ने ।
(९) मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियमविपरीत सञ्चालन गर्न दिइएको गुनासो प्राप्त भएको छ । उक्त कफी सप र पुस्तक पसल कुन विधि प्रक्रियाको अवलम्बन गरी सञ्चालन गर्न दिइयो ? यथार्थ पेश गर्ने ।
(१०) क्रेन (सारस चरा) फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग भएको भन्ने गुनासो प्राप्त भएको छ । सो विषयमा के भएको हो ? सन्दर्भसहित यथार्थ विवरण पेश गर्ने ।
(११) लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरुले दिएको रकमको यथार्थ विवरण तथा सोको परिचालनको अवस्था खुलाई पठाउने ।
(१२) उपाध्यक्षले गरिमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको भन्ने विषयमा के भएको हो ? सो सम्बन्धी विवरण पेश गर्ने ।
(१३) भर्खरै निर्माण सम्पन्न भएको भनिएको सभाहल पानी चुहिने समस्या भएको भनी गुनासो प्राप्त भएकोले सो विषयमा के भएको हो ? सम्पन्न भई हस्तान्तरण भइसकेको हो कि होइन ? यसको दायित्व कसमा अन्तर्निहित छ? खुलाई पठाउने ।
Discussion about this post