लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसैबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयो |
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी= ल्हुङ्गबेनी मा भएको थियो । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। सिद्धार्थ बुद्धको कथा अनुसार उनी पुर्व जन्मका बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे । कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारत र नेपालका बिभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्य कुलको रिति अनुसार पाँचौं दिनमा त्रिवेदले पारंगत १०८ ब्राह्मणहरूलाइ निमन्त्रणा गरी भोजना गराइ ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राम्हणहरूबाट नामाकरण गराएका थिए। सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राम्हणहरूले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे । यहिं शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाइ पुकारियो ।
बाल्यकाल देखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो । दैनिकी कै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो । मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए ।
संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारताबाट मुक्ती पाउन चाहे । उनमा संसार प्रति कुनै मोह बाँकी रहेन । उनलाई सबै कुरा क्षणभङुर लाग्यो । उनमा संसार प्रति वैराग्य उत्पन्न भयो । बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दै गर्दा उनले बुद्धत्त्व प्राप्त गरे । उनी साम्सारिक दुखको जड सम्म पुगे र बुझे की संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुखको जड भनेको मान्छे आफै हो ।
संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिन मा नै भएको थियो । उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।
बुद्धको शिक्षालाई धर्म (पालिभाषामा धम्म) भनिन्छ। बुद्धको धर्म अनुसार सबै दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउंछन। निर्वाण यी बन्धनहरूबाट मुक्त भएपछि प्राप्ति हुन्छ।
बुद्ध परमेश्वर हुन भन्ने र बुद्ध धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको रूपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुद्धको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुद्ध धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।
त्रिपिटक अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन्।
साधारण रूपमा सिदार्थ गौतमलाई मात्र बुद्धको रूपमा लिएतापनि त्रिपिटकको बुद्धवंशमा २८ बुद्धको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुद्धको बारेमा पनि उल्लेख गरिएको छ।
बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन्। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरूलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्नेछन्।
हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ । यिनमा इङ्ल्याण्डबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’, तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा. भीमराव राम अम्बेडकरको ‘बुद्ध र उनको धर्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाको ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), र ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्धदर्शन अध्ययन अध्यापन हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन-अध्यापन गर्दै आएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रस्तावित सिद्धार्थ विश्वविद्यालयले पनि बौद्ध दर्शनको अनुसन्धान र चर्चा परिचर्चा गर्ने गरेका छन् । अन्तरजगतका कुशल चिकित्सक तथा बाहृय जगतका कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए र ती ‘विनय’, ‘सुत्त’ र ‘अभिधम्म’ पिटक आदि पुस्तकमा सङ्ग्रहीत छन् । सम्राट् अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राहृमी लिपिमा नेपाली भाषामा लेखेको अशोक स्तम्भ लुम्बिनीमा पत्ता लागेको १ सय ९ वर्ष पुगेको छ । तत्कालीन पश्चिम क्षेत्र कमान्डर जनरल खड्ग शम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखि पुरातत्त्व विशेषज्ञ डा.फुररको सहयोगमा स्तम्भ उत्खनन् तथा सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको गुरुयोजना आरम्भ भएको थियो । स्रोत : विकिपिडिया
Discussion about this post