आठ बुँदे जिज्ञासा प्रश्न सहित चार युवा संगठनले ज्ञापनपत्र बुझायो मेयर साङ्पाङलाई

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङलाई चार युवा संगठनले आठ बुँदे प्रश्न सहितको ज्ञापनपत्र बुझाएको छ ।

बिहिवार उपमहानगरपालिकामा  काङ्ग्रेस सम्बद्ध नेपाल तरुण दल,  एमालेका राष्ट्रिय युवा संघ नेपाल, माओवादीका वाइसिएल नेपाल र लिम्बूवान युवा मञ्चका युवाहरूले संयुक्त रूपमा मेयरलाई बुझाएका थिए । पत्रमा सर्दु खर्दौको खानेपानी अभियान कार्यपालिका निर्णय कानुनि प्रक्रिया जस्ता कुराको आधार ध्यानाकर्षण गराएको छ । साथै कोखा खोलाको पानी अभियानमा पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरूको नाम अहिलेसम्म सार्वजनिक हुन नसकेको बिषय समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ।

ध्यानाकर्षण पत्रका बुँदाहरु
१. खानेपानी समस्या समाधानका लागि तपाइले गरिरहनु भएका कामहरू सकारात्मक छन् । तर, कोकाहा, सर्दु खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरू र कानुनी प्रक्रिया, सहमति र समग्र परियोजनाको आधारहरू के के हुन् ?

२. धरान खानेपानी व्यवस्थापन बोर्डमा तपाई नगर प्रमुखको हैसियतमा सदस्य हुनुहुन्छ बोर्ड हालसम्म गरेका कामहरूको वैधानिकता के हो ? बैठक नबसी बोर्डले हालसम्म गरेका करोडौँ खर्च कसरी गरिरहेको छ खानेपानीको विभिन्न परियोजनाहरूका सन्दर्भमा कस्ता कस्ता निर्णयहरू भएका छन् । बोर्डको विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन ? बोर्डको अध्यक्ष चयन गर्न सकिएन ?

३. कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक छ । तर, पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरूको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको होला ?

४. धरानको खानेपानीको लागि दाताहरूले दिने सहयोग रकम वाणिज्य बैङ्कको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले तपाईँकै प्रस्तावमा पारित गरी खाता नम्बर समेत सार्वजनिक गरिएको थियो । तर, संस्थागत बैङ्क खातामा रकम जम्मा नगरी व्यक्तिगत रूपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार हो कि होइन ?  अरुलाई पारदर्शीताको पाठ सिकाउनेले आफै चाही पारदर्शी हुनु पर्ने कि नपर्ने ?

५. कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को को हो ?

६. वडाका अध्यक्षहरु पनि तपाइजस्तै निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरू हुन् । वडा अध्यक्षहरूलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने तपाइको सचिवालयका सदस्यलाई के कारबाही गर्नु भयो ? या तपाइको निर्देशनमै भएको हो भने गलत काम गराएकामा तपाइले कहिले माफी माग्नुभयो ?

७. धरान र इटहरीको सीमा विवाद पूर्ववत् नगर प्रमुखहरू भएकै समयदेखिको हो । सीमा विवाद चाँडै किनारा लगाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरूलाई कहिले जानकारी गराउनु भएको थियो रु यसअघि पनि सीमा विवाद भएको र त्यस बेला दुई उपमहानगरबिच भएको समझदारीको ख्याल किन गर्नुभएन । धरान उपमहानगरपालिका तर्फबाट दलहरू, पूर्व जनप्रतिनिधिहरू, बुद्धिजीवी र छिमेकी उपमहानगरका समकक्षीसँग कहिले छलफल गर्नुभयो ?

८. नियमित कार्यपालिकाको बैठक अवरोध हुनु धरानको विकासका समग्र प्रक्रियामा अवरोध आउनु, धरानको बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा प्रमुखको हैसियतमा मेरो पनि दोष छ भन्ने सोच मनमा आउछ की आउँदैन होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित