अहं प्रश्न: प्रचन्ड माओवादीको कमजोरी स्वीकारले किरात प्रदेश बन्छ? अनि लिम्बुवान र कोचिला प्रदेश बन्छ?

अहं प्रश्न: प्रचन्ड माओवादीको कमजोरी स्वीकारले किरात प्रदेश बन्छ? अनि लिम्बुवान र कोचिला प्रदेश बन्छ?

१. फेरि पनि आम रुपमा पूर्वेली जनताको न्यायपूर्ण आन्दोलन र विशेष रुपमा किरात गणराज्य मोर्चा निर्माणको पहलबाट त्रसित प्रचन्ड माओवादीले घुँडा टेक्न खोजेको प्रतीत हुन्छ। पहिचानवादी दशौं हजारको जनप्रदर्शन, लाजेहाङ लिम्बूको सहादत, आन्दोलनकर्मीहरु दर्जनौंको संख्यामा घाइते र गिरफ्तारी, बाहुनवादी कोशी प्रदेश लेखिएको बोर्ड हटाउने जनअभियान, कथित मुख्यमन्त्री र प्रचन्डवादी दल नेता सवार गाडी तोडफोड एवं यलाखोम उपत्यका र माझकिरात भोजपुरमा भव्यतम् किरात गणराज्य मोर्चा निर्माणबाट प्रचन्ड गुट- माओवादीको सातोपुत्लो उडेको सत्य हो। तब त्यसले आफू पहिचानकै पक्षमा रहेको भनेर रुन्चे विज्ञप्ति जारी गर्यो।

२. प्रश्न शाश्वत छ, त्यस गुटको विज्ञप्ति पक्षधरता पूर्वमा किरात-लिम्बुवानको पहिचान निमित्त मात्र हो कि समग्रताको पनि? समग्रताको अर्थमा हो भने हिजो त्यसले नेवा-ताम्सालिङलाई दबाएर बागमती प्रदेश नामाकरण अपराध किन गर्यो? तमुवान-मगरातलाई दबाएर गण्डकी, थरुवान-मगरातलाई दबाएर लुम्बिनी अनि खसानलाई दबाएर कर्णाली र सुदुरपश्चिम नामाकरण अपराध किन गर्यो?

अत: सैद्वान्तिक एवं व्यवहारिक तथ्य प्रष्ट छ, प्रचन्ड माओवादीको “पहिचान पक्षधरता यथावत” भन्ने कथित विज्ञप्ति सरासर आन्दोलन तुहाउने षडयन्त्र हो। त्यस किसिमको सफेद भ्रमको पछि नलाग्न आन्दोलनकारी संघसंस्था, राजनीतिक दल र व्यक्तिहरुमा गम्भीर अनुरोध गर्नु पर्दछ।

किनभने, सत्तासीन प्रचन्ड गुटले पहिचानवादी जनसमुदायमा भ्रम छर्ने, घेरा हाल्ने र (पूर्वको न्यायपूर्ण आन्दोलनलाई) सखाप तुल्याउने षडयन्त्र नीति लिएको प्रष्ट छ। त्यस विरुद्व सच्चा पहिचानवादीले योग्ययापूर्वक भ्रम चिर्ने, घेरा तोड्ने र निरन्तर प्रतिरोध गर्ने क्रान्तिकारी नीति लिनै पर्दछ।

३. अर्को प्रश्न, के प्रचन्ड गुटको कथित माओवादीले (एमाले र कांग्रेसको माउसुली पुच्छर बनेर) रातारात कोशी प्रदेशमा सहमतिको अपराध गर्ने आफ्ना सांसदहरुलाई मनासिब कार्वाही गरेको छ? छैन। तसर्थ त्यस गुटको रुन्चे विज्ञप्तिको कुनै राजनीतिक औचित्य छैन, भनेर स्वत: बुझ्नु पर्दछ।

४. अन्त्यमा, प्रचन्ड गुटसित लेस मात्र पहिचान पक्षधरता बाँकी रहेछ भने त्यस गुटले तत्काल निम्न काम गरेको हुनैपर्छ-

क. कोशीदेखि बागमती हुँदै गण्डकी, लुम्बिनी, कर्णाली अथवा सुदुरपश्चिमसम्मका पहिचान विरोधी प्रदेश नामाकरणमा सहमति दिने आफ्ना पार्टीका सबै अपराधी सांसदहरु र ती सांसदहरुलाई पहिचान विरोधी अपराधकर्मका लागि निर्देशन दिने नेताहरुलाई उसको नेकपा (माओवादी केन्द्र) बाट आजीवन निश्काशन गर्न सक्नु पर्छ।

ख. पूर्वको हकमा त्यस गुटले, आफ्ना सांसदहरुले अपराधकर्म गरेकोप्रति खुलेआम सार्वजानिक आत्मालोचना गर्दै आजैदेखि कोशी प्रदेश खारेज तथा नयाँ नामाङ्कन संयुक्त संघर्ष समितिको घटक बनेर जारी पहिचान आन्दोलनमा छलछामरहित भौतिक सहभागिता जाहेर गर्नु पर्छ।

अन्यथा, जसो जसो एमाले-कांग्रेस, उसो उसो प्रचन्ड माओवादीको खुट्टी देखिसकिएको पृष्ठभूमिमा पूर्वको पहिचान आन्दोलनलाई दृढ निरन्तरता दिने संकल्प जारी राख्नै पर्छ। फेरि पनि अन्यथा कि आन्दोलन उठाउने, कार्यकर्ता मराउने, घाइते र गिरफ्तार गराउने अगुवाहरु पनि अपराधकर्मी ठहर्ने स्थितिबोध हामीहरुले गरेको हुनै पर्छ।

(गोपाल किराती)
संरक्षक
किरात गणराज्य मोर्चा
२३ चैत २०७९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित