धरान । प्रदेश १ को नाम कोसि राखेपछि पहिचानको नामाङ्कन आन्दोलन चर्किरहेकोबेला प्रदेश १ मा रहेको जनता समाजवादी पार्टीले सरकारको समर्थन फिर्ता हुनुपर्ने माग गरेको छ ।
जनता समाजवादी पार्टीका चारवटा राष्ट्रिय समितिले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने र स्वास्थ्य मन्त्रीले राजीनामा गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । लिम्बुवान राष्ट्रिय समिति,शिल्पि विशेष प्रदेश समिति,किरात राष्ट्रिय समिति,प्रवास विशेष राष्ट्रिय समिति र शेर्पालुङ राष्ट्रिय समितिले संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा पहिचानको लागि यत्रो आन्दोलन र घटना हुँदा पहिचानवादीहरुको साझा पार्टी जसपा, नेपाल केन्द्रीय समितिको आधिकारिक धारणा अहिलेसम्म नआउदा शहिद लाजेहाङ (पदम) लिम्बुका परिवार लगायत आन्दोलनमा सहभागी लाखौ न्यायप्रेमी जनताले दु:ख महशुस गरिरहेको उल्लेख छ ।
प्रदेश न. १ को सरकारलाई दिएको समर्थन फिर्ताका साथै जसपाका मन्त्रीलाई तत्काल राजीनाम गराएर पहिचानवादीहरूको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु नै सही राजनीतिक निर्णय हुने आम जनताको माग रहेको बिज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ती
(१) कोशी प्रदेश खारेज गरी प्रदेश नं. १ पुन: नामाङ्कन आन्दोलनको क्रममा चैत ५ गते बिराटनगरमा भएको विशाल जनप्रदर्शनमा प्रहरीले गरेको हवाई फायर तथा अश्रुग्यासको गोलि टाउकोमा लागी घाइते हुनु भएका लाजेहाङ (पदम) लिम्बुको उपचारको क्रममा शाहदात प्राप्त गरेकाछन् । पहिचानको लागि यत्रो आन्दोलन र घटना हुँदा पहिचानवादीहरुको साझा पार्टी जसपा, नेपाल केन्द्रीय समितिको आधिकारिक धारणा अहिलेसम्म नआउदा शहिद लाजेहाङ (पदम) लिम्बुका परिवार लगायत आन्दोलनमा सहभागी लाखौ न्यायप्रेमी जनताले दु:ख महशुस गरिरहेको अवस्थामा पार्टीको आधिकारिक धारण सहित प्रेस विज्ञप्ती जारी गर्नु अपरिहार्य देखिन्छ ।
(२) त्यस घटनाको मुख्य जिम्मेवार ठहर गरिएको प्रदेश न. १ को सरकारलाई दिएको समर्थन फिर्ताका साथै जसपाका मन्त्रीलाई तत्काल राजीनाम गराएर पहिचानवादीहरूको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु नै सही राजनीतिक निर्णय हुने आम जनताको माग रहेकोछ ।
(३) शहिद पदम लिम्बुलाई घाइते बनाईको स्थानलाई लाजेहाङ (पदम लिम्बु) चोक नामकरण गरी सो स्थनामा लाजेहाङको शालिक निर्माण गर्न सरकार सहमत हुनु पर्दछ ।
(४) शान्तिपूर्ण आन्दोलनमाथी भएको दमन र दोषी पत्ता लगाउन सम्मानीत सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायधिशको नेतृत्वमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गर्दछौं ।
(५) लाजेहाङ (पदम) लिम्बुलाई शहिद घोषणा, परिवारलाई उचीत क्षतीपूर्ती र घाईतेहरूको निशुल्क उपचार गर्ने प्रधानमन्त्रीले आन्दोलनकारीहरुसंग भेटघाटको क्रममा दिएको आश्वासन तत्काल कार्यन्वयन गर्नका साथै प्रदेश १ का सरकारी, गैरसरकारी, पालिका र वडा कार्यालयमा कोसी प्रदेश लेखिएका साईन बोर्ड र लेटरप्याड तुरून्त हटाई वार्ताको लागी वातवरण निर्माण गर्नु पर्दछ ।
(६) राज्यले जनताको शान्तिपुर्ण आन्दोलन माथि दमनकारी नीति लिएको हुनाले आन्दोलनकारीहरुको प्रतिरक्षाको लागि प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्स समितिद्वारा “युवा दस्ता” को गठन अपरिहार्य भएको छ ।
(७) कोसी नाम विरुद्ध र खारेजीको लागि आन्दोलन गर्न “प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्स समिती” निर्माण भएको छ । यस संघर्ष समितिमा जसपा, नेपाल, आन्दोलनकारीहरु मध्येको एक घटक दल हो । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्स समितिद्वारा घोषित सम्पुर्ण कार्यक्रम जसपा, नेपालको पनि कार्यक्रम भएको हुनाले सबै तह र तप्काका संगठन नेताकार्यकर्ता सबैलाई उच्च मनोबलका साथ आन्दोलनको कार्यक्रमहरुलाई सफल बनाउन हाम्रो लागि बाध्यात्मक अवस्था हो भन्ने ठान्दै मैदानमा उत्रन आव्हान गर्दछौं ।
धन्यवाद !
संघीय अभिवादन ।
जय १० प्लस १ ।
Discussion about this post