झापा । दमकस्थित कदम थिएटरको आयोजनामा ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रम शनिबार आयोजना भएको छ । कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपाल, प्रवास र भारतका नौजना कविहरु सहभागी भएका हुन् ।
कार्यक्रममा नेपालका चारजना, भारतका चारजना र प्रवासबाट एकजना गरेर जम्मा नौजना कविहरु सहभागी भएका थिए । कार्यक्रममा नेपालबाट किरण शिवा, दीपा दाहाल, रोशन परियार र सन्जित फलाना सहभागी भएका थिए । भारतबाट आशिष लिम्बू, राकेश क्रान्तिकारी, विशाल नाल्बो र स्मिता सोताङ राई सहभागी भएका थिए । प्रवासबाट कवि पराजित पोमुको सहभागिता थियो । सहभागी प्रत्येक कविले आफ्ना तीनतीनवटा कविता वाचन गरेका थिए ।
कार्यक्रममा तुम्याहाङको रुपमा कविद्वय प्रकाश बुढाथोकी र धर्मेन्द्र नेम्बाङ उपस्थित थिए । दमक नगरपालिकाको वडा नं ९ स्थित निर्माणाधिन कदम थिएटरको ‘पाङ्वा इला हिम्’ कक्षमा आयोजित कार्यक्रममा बोल्दै कवि धर्मेन्द्र नेम्बाङले कार्यक्रमलाई साहित्यमा विकेन्द्रीकरणको युवा अभियानको रुपमा व्याख्या गरेका थिए । नेम्बाङले भने, ‘राजधानी काठमाडौंमा पनि आजसम्म नगरिएको साहित्यिक अभ्यास दमकले गरेको छ ।’ तीन अलग पृष्ठभूमिका युवा कविहरुले एउटै मञ्चबाट कविता वाचन गर्दा समकालीन नेपाली साहित्यबारे युवाहरुको चिन्तन कस्तो रहेछ भनेर प्रष्ट भएको उनले बताए ।
कार्यक्रमका तुम्याहाङ कवि प्रकाश बुढाथोकीले यस कार्यक्रमले नेपाल-भारत साहित्य सम्बन्धलाई पुनर्जीवन दिएको बताए । बुढाथोकीले भने, ‘हिजो आइबी राई, प्रकाश कोविदहरुले नेपालसित जोडेको साहित्यिक सम्बन्धको सेतुको आज पुनर्निर्माण भएको छ ।’ अन्तरदेशीय साहित्यिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता किसिमका कार्यक्रम र प्रकाशन निरन्तर हुनुपर्ने उनको धारणा थियो ।
आयोजकका तर्फबाट कदम थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले सहभागी कविहरुलाई सम्मानपत्र वितरण गरेका थिए ।
याक्थुङ (लिम्बू) भाषामा सुम्वादोको अर्थ त्रिवेणी हो । तीन फरक अनुभव र भूगोलका कविहरुले कविता वाचन गर्ने कार्यक्रम रहेकोले यसको शीर्षक सुम्वादो राखिएको आयोजकले जनाएको छ ।
कदम थिएटरको आयोजनामा सम्पन्न ‘सुम्वादो’ अन्तरदेशीय कविता वाचन कार्यक्रमका लागि बलिन्द्र योङहाङ, अमित याक्थुङ्बा र उत्तम खजुमले आर्थिक सहयोग गरेका थिए ।
Discussion about this post