काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा तत्कालीन सिधा कुरा जनतासंगका टेलिभिजन कार्यक्रम संचालक रबि लामिछानेले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।
नेपाल पत्रकार महासंघले प्रेस बिज्ञप्ति जारी गर्दै लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ भनिएको छ । रबि लामिछानेले आइतबार पार्टीको बिषयमा पत्रकार सम्मेलन गर्ने क्रममा नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको ठहर गरेको छ ।
संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो उल्लेख छ । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकमी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघले चिन्ता प्रकट गरेको छ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने भन्दै महासंघ प्रष्ट पार्न चाहेको उल्लेख छ ।
महासंघले बिज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने उल्लेख छ । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ ।
Discussion about this post