सबैलाई सम्मान सबैको पहिचान : अशोक राई

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले पहिचान राष्ट्रलाई एकताबद्ध बनाउने चिज रहेको बताएका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आदिवासी जनजाति चलचित्र महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पहिचान आदिवासी जनजातिहरुको मात्रै पेवा नभएको पनि प्रष्ट पारे । उनले भने, ‘नेपालमा बस्ने नेपालीहरु हरेकको आ–आफनो भाषा, धर्म, संस्कृति, मूल्यहरु त्यो सबै पहिचान हो ।’ उनले ‘सबैलाई सम्मान सबैको पहिचान’ भन्ने नै पहिचानवादीहरुको उपयुक्त नारा हुने बताए ।
नेपालको राजनीति पहिचानप्रति सकारात्मक हुन नसक्नु नै समस्याको रुपमा रहेको भन्दै अब यसलाई हल गर्नुपर्ने उनले बताए ।

पूर्वमन्त्री समेत रहेका नेता राईले राज्यले आदिवासी जनजाति चलचित्रहरुलाई मात्रै नभएर समग्र नेपाली चलचित्र क्षेत्रलाई नै मदत गर्नुपर्ने बताए । नेपाली चलचित्रहरुले बलिउड चलचित्रहरुलाई थोरै भए पनि विस्थापन गर्न सकेको खण्डमा त्यसले राष्ट्रिय अर्थतन्त्र निर्माणमा बल पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का लगायत जनजातिजन्य संगठनका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रममा विभिन्न जातिका कलाकारहरुको प्रस्तुति रहेको थियो । महाधिवेशनको बन्दसत्र आइतबार बिहान ८ बजेदेखि नयाँ बानेश्वरमा हुनेछ । जसले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित