बिराटनगर । जनगायक जेबी टुहुरेको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिसहितको सम्मान तथा पुरस्कार यस वर्ष वरिष्ठ गीतकार, कवि तथा संस्कृतिकर्मी वम देवान र खेम नेपालीलाई प्रदान गरिएको छ। जेबी टुहुरे फाउन्डेशनद्वारा हरेक वर्ष प्रदान गरिने यो सम्मान यसअघि गीतकार लव प्रधान मित्र, कवि एवं गीतकार अनिल पौडेल र दिवंगत जनगायक खुशीराम पाख्रिनलाई प्रदान गरिएको थियो।
शनिबार विराटनगरमा आयोजित चौथो जेबी टुहुरे स्मृति दिवस एवं सम्मान कार्यक्रममा नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले दुवै स्रष्टालाई नगद ५०–५० हजारसहित सम्मान गरिन्। कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी नेता हरिवोल गजुरेल, कांग्रेस नेता केदार कार्की, एमाले नेता विनोद ढकाललगायतको उपस्थिति थियो। कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूले जेबी टुहुरेका लोकप्रिय गीत प्रस्तुत गरेका थिए।
फाउन्डेशनका संयोजक राजेश थापाको नेतृत्वमा गठित ६ सदस्यीय सिफारिस समितिको निर्णयअनुसार यो वर्षको सम्मान प्रदान गरिएको हो। फाउन्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले स्मृति दिवसको अवसरमा जारी विज्ञप्तिमा सामाजिक, सांस्कृतिक र साहित्यिक योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको जानकारी दिइन्।
धरानको पुरानो बजारमा वि.सं. २००१ साल कात्तिक १५ गते जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंस्थित वयोधा अस्पतालमा निधन भएको थियो। उनले गीत–संगीतमार्फत नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने महत्त्वपूर्ण योगदान गरेका थिए। उनको योगदानको कदरस्वरूप २०८० भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई ‘जनगायक’ को उपाधि प्रदान गरेको थियो।
वम देवानका ‘छोराहरु हो, छोरीहरु हो… वीर छोराछोरीहरु’ जस्ता चर्चित गीतहरू टुहुरेले गाएका हुन्। त्यस्तै, खेम नेपालीद्वारा रचित ‘के दिउँ दाइजो चेलीलाई’, ‘पानी चल्दैन रे, तर रगत चल्दछ’ लगायतका गीत पनि टुहुरेको स्वरमा लोकप्रिय बनेका थिए।






















Discussion about this post