निर्वाचन प्रणाली होइन, नेताको कार्यशैलीले अस्थिरता ल्याएको मन्त्री गुरुङको धारणा आदिवासी जनजाति प्रतिष्ठानले नौ वटा पुस्तक सार्वजनिक

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा अस्थिरताको कारण निर्वाचन प्रणाली नभई राजनीतिक दल र तिनका नेताहरूको कार्यशैली रहेको बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेताहरूको सत्ताकेन्द्रित सोच र राजनीतिक आचरणले अस्थिरता निम्त्याएको भन्दै त्यसको दोष निर्वाचन प्रणालीलाई दिनु उचित नहुने धारणा राखे।

उनले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै क्षति हुने बताउँदै यसको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा जोड दिए। “समावेशी प्रणाली स्थिर सरकारको बाधक होइन, बरु नेताको कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ,” मन्त्री गुरुङले भने।

समानुपातिक र समावेशी प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै उनले सीमान्तकृत र आदिवासी समुदायलाई एकजुट भएर यसको संरक्षणमा लाग्न आह्वान गरे। साथै, संघीयता ल्याउन लामो संघर्ष भए पनि अझै राज्य सञ्चालनमा समावेशी प्रणालीको पूर्ण कार्यान्वयन नभएको उल्लेख गर्दै आदिवासी आन्दोलनलाई सामाजिक–सांस्कृतिक क्षेत्रमा मात्र सीमित नराखी राजनीतिक र आर्थिक क्षेत्रमा पनि सक्रिय हुनुपर्ने सुझाव दिए।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानलाई खारेज गर्नुपर्ने धारणा राखिनु आदिवासी जनजातिप्रतिको असंवेदनशील दृष्टिकोण भएको टिप्पणी गरे। उनले प्रतिष्ठान र आदिवासी आयोगको अधिकारक्षेत्र फरक रहेको स्पष्ट पार्दै, “स्वायत्त निकायका रूपमा प्रतिष्ठानले आदिवासी मुद्दामा स्वतन्त्र पैरवी गर्न सकेको छ,” भने।

उपाध्यक्ष गुरुङका अनुसार आदिवासी जनसंख्या मुलुकको ३५ प्रतिशत भए पनि प्रतिष्ठान, आदिवासी आयोग र थारु आयोगको संयुक्त बजेट वार्षिक १७ करोड मात्र छ। उनले प्रतिष्ठानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, प्रा. डा. कृष्ण हाछेथुले प्रतिष्ठानलाई आदिवासी ज्ञान र इतिहास उत्पादन गर्ने प्रमुख संस्था भएको उल्लेख गर्दै यसको आवश्यकता दोहोर्याए। डा. जनक राईले प्रतिष्ठानले प्रकाशन गरेको आदिवासी ज्ञानकोष अध्ययन र अनुसन्धानका लागि मूल्यवान् स्रोत भएको बताए।

समारोहमा प्रतिष्ठानले प्रकाशित नौ पुस्तक विमोचन गर्‍यो। विमोचित पुस्तकहरूमा प्रा. डा. कृष्ण हाछेथुको नेपालका आदिवासी जनजाति ज्ञानकोष भाग १, योगेन्द्र गुरुङ, शेरबहादुर गुरुङ, विद्या श्रेष्ठ र तारामणी राईद्वारा तयार भाषिक समुदाय सम्बन्धी नेपाल एटलस लगायत छन्।

त्यसैगरी, गुरुङहरूको मृत्यु तथा अर्घु परम्परा सम्बन्धी सी पै छ्योए, थारु भाषाको पुस्तौनी, मगर स्थान नाम, मुगा भाषा र फाङ्दुवाली भाषाको वर्ण पहिचान सम्बन्धी पुस्तक पनि सार्वजनिक भए। मातृभाषासम्बन्धी थुङ नामक प्रकाशन समेत विमोचन गरिएको थियो।

कार्यक्रममा प्रा. डा. योगेन्द्र गुरुङ र प्रा. डा. जनक राईले विमोचित पुस्तकहरूको समीक्षा प्रस्तुत गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित