काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले न्याय परिषद्ले साउन २२ गते गरेको सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णय असमान र विभेदपूर्ण रहेको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ।
जसपाले जारी गरेको विज्ञप्तिमा नियुक्ति प्रक्रियामा दलित, आदिवासी जनजाति, महिला, मुस्लिम, मधेसी, अल्पसंख्यक र पिछडिएका समुदायलाई बेवास्ता गरिएको उल्लेख गरिएको छ। पार्टीका अनुसार, यस्तो कदमले राज्यलाई एकल जातीय चिन्तनतर्फ धकेल्ने र गैरसमावेशी मानसिकता झल्काउने स्पष्ट देखिन्छ।
पार्टीले समावेशी लोकतान्त्रिक व्यवस्थाका मुल्य–मान्यतालाई धरापमा पार्ने गरी राज्यले गरेको असमान र भेदभावपूर्ण नियुक्तिप्रति सदैव विरोध रहने चेतावनी दिएको छ। साथै, संविधानको भावना र समावेशीताको सिद्धान्त विपरीत भएका निर्णयहरू नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजमा अस्वीकार्य हुने जसपाको भनाइ छ।
जसपाका प्रवक्ता माननीय मनिष कुमार सुमनद्वारा जारी विज्ञप्तिमा विभेदपूर्ण नियुक्ति सच्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ।





















Discussion about this post