श्रमको राजनीति र जनअपेक्षा बीच वडाध्यक्षको कारबाहीको सिफारिस : धरान ४ बाट उठेको प्रश्न

🖊️ लजेस राई
: Dharapani Online Media

धरान–४ का वडाध्यक्ष धनबहादुर राईमाथि नेकपा (एमाले) पार्टीले गरेको कारबाही सिफारिस पछिल्लो समय सामाजिक तथा राजनीतिक बहसको केन्द्रमा छ। वडाध्यक्ष राईले मेयर हर्क साम्पाङ्गको नेतृत्वमा निरन्तर भइरहेका श्रमदान कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका थिए। विशेषतः सडक, नाला सरसफाईदेखि खानेपानी अभियानसम्म वडाध्यक्ष स्वयं खटिएका थिए — पार्टी अनुशासनभन्दा माथि ‘जनसेवा’ राख्दै।

यही निरन्तरताको बीच पार्टीको सिफारिस आयो— जसलाई धेरैले श्रमको सम्मानमाथिको अवमूल्यन र राजनीतिमा संकीर्ण सोचको प्रतिबिम्ब मानेका छन्।

जनपक्षीय कामको सन्देश

सिफारिसको समाचार सार्वजनिक भएपछि मेयर हर्क साम्पाङ्ग स्वयम्‌ले वडाध्यक्ष राईलाई ‘सच्चा जनप्रतिनिधि’ भनेर खुलेर समर्थन जनाए। हजारौं श्रमदाताले सार्वजनिक रूपमा वडाध्यक्ष राईको सम्मान गरेका दृश्यहरूले एक स्पष्ट सन्देश दिएको छ — धरानको जनता काम गर्ने हातको साथमा छन्, पद र पाटीको घेरामा होइन।

धरानको इतिहासमा वडास्तरमै निरन्तर जनश्रममा सहभागी हुने जनप्रतिनिधि विरलै पाइन्छन्। राईले शब्द होइन, कामको राजनीति देखाए। त्यही हो, जुन सामान्य नागरिकको मनमा बसेको छ।

श्रमदान अभियानको आत्मा र सन्देश

हर्क साम्पाङ्गको नेतृत्वमा धरानमा चलेको श्रमदान अभियान केवल अभियान मात्र होइन — यो एक राजनीतिक चेतना र नागरिक संलग्नताको अभिव्यक्ति पनि हो। यस्तो अभियानमा वडाध्यक्षको संलग्नता स्वाभाविक थियो, तर त्यसैका कारण कारबाही सिफारिस हुनु आश्चर्यजनक मात्र होइन, चिन्ताजनक पनि हो।

यो घटनाले ठूलो प्रश्न खडा गर्छ — के हामी अझै पनि जनताको पक्षमा काम गर्नेहरूलाई राजनीतिक रूपमा असहज बनाउने प्रवृत्तिमा छौं?

जनताको जवाफ: सम्मान र समर्थन

सामाजिक सञ्जालदेखि सडकसम्म वडाध्यक्ष राईप्रति देखिएको समर्थन यही प्रश्नको जवाफ हो। जनताले व्यक्त गरेका ती अविरल सम्मानका दृश्यहरू कुनै ‘राजनीतिक प्रायोजित प्रदर्शन’ थिएनन्। ती थिए– एक व्यक्तिको श्रमप्रतिको इमान, निष्ठा र समर्पणप्रति जनताको स्वस्फूर्त प्रतिक्रिया।

निष्कर्ष

धरान ४ को यो घटनाले स्पष्ट देखाएको छ— पार्टी अनुशासनभन्दा पनि ठूलो हुन्छ जनताको भरोसा, र राजनीतिक चिन्हभन्दा माथि हुन्छ कामको मूल्य। वडाध्यक्ष राईले देखाएको साहस र जनताको समर्थनले भविष्यको राजनीति कुन दिशातिर जानुपर्ने हो भन्ने सन्देश दिइसकेको छ।

श्रम गर्ने प्रतिनिधिलाई कारबाही होइन — सम्मान चाहिन्छ।
त्यो सम्मान अब जनताले दिएको छन्।

लजेश राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)