वरुण नदीमा हाईड्रो पावर निर्माणको विरोधमा भोटखोला बासीको अपील, धार्मिक स्थल जोगाउन एकजुट हुने अठोट(भिडियो सहित)

काठमाडौ । संखुवासभा जिल्लाको शिङ्सालुङ स्थित धार्मिक, पर्यावरणीय तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण वरुण नदीमा जलविद्युत् आयोजना निर्माणको प्रयास भएको भन्दै स्थानीयवासीहरू कडा आपत्तिमा उत्रिएका छन्।

‘वरुणधाम संरक्षण नागरिक समिति भोटखोला’ र ‘भोटे राष्ट्रिय मुक्ति मोर्चा’को संयुक्त अपीलमा सरकारले अनुमति दिएको एमपिक इनर्जी प्रा.लि. कम्पनीद्वारा भौगोलिक अध्ययन तथा नापजाँच कार्य भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

स्थानीयहरूको भनाइ अनुसार वरुण नदी मात्र एउटा नदी नभई हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। यस क्षेत्रमा माघे संक्रान्तिको अवसरमा सयौं धार्मिक श्रद्धालुहरू आएर स्नान गरी पुण्य कमाउने धार्मिक मान्यता छ। शिवधारा (आङ्ले) र दुधकुण्ड (होमेछो) जस्ता तीर्थस्थलहरूबाट उत्पत्ति भएको पवित्र जल वरुण र अरुण नदीको संगमस्थलमा मिसिने भएकाले यो नदीको धार्मिक महत्त्व उच्च रहेको बताइएको छ।

धार्मिक र पर्यावरणीय संकटको चेतावनी

स्थानीय नेताहरूले भने, “यदि यहाँ जलविद्युत् आयोजना सञ्चालन भयो भने, यसले केवल प्राकृतिक दृश्य वा नदीको प्रवाह मात्र होइन, हाम्रो धर्म, संस्कृति र पहिचान नै संकटमा पर्नेछ।”

यस क्षेत्र संरक्षित कोशी टप्पु वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) अन्तर्गत पर्नुका साथै दुर्लभ र लोपोन्मुख प्रजातिका चरा काँड भ्याकुरको बासस्थान भएकोले पर्यावरणीय सन्तुलन बिग्रने चिन्ता पनि व्यक्त गरिएको छ।

सक्दो प्रतिकार गर्ने चेतावनी

अपीलमा भनिएको छ, “धार्मिक स्थल वरुणधाम नष्ट हुने कुनैपनि गतिविधि स्वीकार्य छैन। यस किसिमको आयोजना संचालन गरिएमा स्थानीयवासी, बुद्धिजीवी, युवा, महिला, कर्मचारी लगायत सबै तह, वर्ग र समुदाय मिलेर डटेर प्रतिकार गरिनेछ।”

त्यस्तै, सरकारले पनि धार्मिक पर्यटकीय क्षेत्रको संवर्द्धन र संरक्षणमा कन्ज्युसाई नगरी स्पष्ट नीति लिनुपर्ने माग गरिएको छ।

स्थानीय आवाज बलियो बन्दै

वरुण नदी बचाउन जारी अपीलमा स्थानीय संस्था ‘ल्होमी सिड्सा कल्याण केन्द्र’ लगायतका प्रतिनिधिहरूको पनि ऐक्यबद्धता रहेको छ। अपीलमा वरुणधाम संरक्षण नागरिक समितिका अध्यक्ष उत्तरमान राई, भोटे राष्ट्रिय मुक्ति मोर्चाका संयोजक सोनाम भोटे र ल्होमी सिड्सा केन्द्रका अध्यक्ष लाक्पा ल्होमीले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)