प्रहरी चौकीको निर्माण कार्य रोक्का राख्न धरान उपमहानगरपालिकाको आग्रह
धरान । धरान उपमहानगरपालिका वडा नं. १६ स्थित बहुभाषिक पाठशालाको कम्पाउण्डभित्र निर्माण गर्न लागिएको प्रहरी चौकीको काम तत्काल रोक्का राख्न नगरपालिकाले अनुरोध गरेको छ।
नगरप्रमुख हर्कराज राईबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगरलाई पठाइएको पत्रमार्फत सो निर्माण कार्य सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराइएको छ।
प्रमुख साम्पाङबाट पत्रमा उल्लेख गरिएको छ – ` निर्माण व्यवसायी योगेश खतिवडा (मो. नं. ९८१०५८५५१४) मार्फत प्रहरी चौकी निर्माण कार्य सुरु गर्न लागिएको भए पनि अहिलेसम्म उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन (DPR) अवलोकन नगरिएको तथा डिजाइनसम्बन्धी कुनै स्पष्ट जानकारी नगरपालिकालाई दिइएको छैन।´
“पाठशालाको मूल उद्देश्यमा असर पुग्ने गरी अन्यथा परिणाम आउने खतरा रहेकाले डिजाइनबारे पर्याप्त समन्वय नगरी तथा उपयुक्त स्थानको छनोट नगरी कुनै पनि निर्माण कार्य नगरिदिन अनुरोध गरिएको छ,” पत्रमा उल्लेख छ।
धरान उपमहानगरपालिकाका अनुसार सो स्थानमा प्रहरी चौकी निर्माण भएमा शैक्षिक वातावरणमा प्रभाव पर्न सक्ने सम्भावना रहेकोले वैकल्पिक स्थानको पहिचान तथा सरोकारवालाबीचको समन्वयपछि मात्र अगाडि बढ्नुपर्ने आवश्यक रहेको जनाइएको छ।
मेयर साम्पाङले चौकी बारे थप स्पष्ट पार्दै- `प्रहरी चौकी बन्नु पर्छ भन्ने कुरामा दुई मत छैन तर DPR नहेरी पहुँचको भरमा नगरपालिकाको इजाजत नलिई estimate नहेरी प्रदेशको बजेट हो भनेर बहुभाषिक पाठशालाको शैक्षिक उद्देश्यमै बाधा पुग्ने गरी अशोभनीय ढङ्गको संरचना बनाउनु हुँदैन भन्ने हो ! यो बारे छलफल गरेर मात्रै अघि बढ्नु पर्छ !´
Discussion about this post