लजेस राई
धनकुटा २५— शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुदृढीकरण गर्ने उद्देश्यका साथ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ स्थित श्री भगवती प्राथमिक विद्यालयमा दुई कोठे नयाँ भवनको निर्माण कार्य सुरु गरिएको छ।
गैरसरकारी संस्था KTK-Belt को समन्वय तथा Vertical Biodiversity Fund को आर्थिक सहायतामा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गाउँपालिका अध्यक्ष श्री जितेन्द्र राईले एक विशेष समारोहबीच गरेका हुन्।
शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयको भौतिक पूर्वाधार स्तरोन्नति कार्यक्रम अन्तर्गत २४ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको भवन आगामी डिसेम्बर महिनासम्म सम्पन्न गरिने योजना रहेको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
गाउँपालिकाका अध्यक्ष राईले कार्यक्रममा बोल्दै विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीहरूको सिकाइमा असर पर्न गएको भन्दै नयाँ भवनले पठनपाठन वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यस परियोजनाबाट शिक्षा क्षेत्रमा पहुँच, गुणस्तर र पूर्वाधारको सन्तुलित विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
Discussion about this post