शिक्षाको यज्ञमा समर्पित डम्बर सिंह गुरुङको स्मृतिमा प्रेरणादायी कार्यक्रम

दिपेश रोक्का “शिक्षा केवल किताबको ज्ञान होइन, जीवनको उज्यालो हो” — यिनै दर्शनका प्रणेता, पर्ल एकेडेमी इंग्लिश स्कूलका संस्थापक स्वर्गीय डम्बर सिंह गुरुङको ५२ औं जन्मजयन्ती शुक्रबार विद्यालय प्राङ्गणमा भव्य रुपमा मनाइएको छ।

विद्यालय स्थापनादेखि नै ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको जग हाल्ने उद्देश्यले अघि बढेका गुरुङको स्मृतिमा आयोजित कार्यक्रम भावनात्मक, प्रेरणादायी र भव्य रहेको थियो। विद्यालयका निर्देशक मन कुमारी गुरुङका अनुसार, “डम्बर सरको जीवनको एकमात्र सपना थियो – गाउँका बच्चाले पनि सहरसरहको शिक्षा पाउन्। उहाँको यही सपना हामीले बोकिरहेका छौं।”

स्व. गुरुङको योगदानको कदर गर्दै विद्यालयले हरेक वर्ष जस्तै यस वर्ष पनि जन्मजयन्तीको अवसरमा बहुआयामिक कार्यक्रम आयोजना गरेको हो। समारोहमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने ७१ विद्यार्थीलाई पुरस्कार, ११ विधामा उत्कृष्ट प्रतिभालाई विद्यार्थी सम्मान, र २०८२ मा नयाँ भर्ना भएका ५५ विद्यार्थीलाई स्वागत सम्मान गरिएको थियो। यस्तै, अतिरिक्त क्रियाकलापमा अग्रणी रहने १८ विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमको विशेष आकर्षण भनेको संस्थापक गुरुङप्रति विद्यार्थीहरूको भावपूर्ण श्रद्धाञ्जलि थियो। विद्यार्थीहरू, शिक्षक, अभिभावक सबैको आँखामा गहिरो श्रद्धा र गर्वको अनुभूति देखिन्थ्यो।

कार्यक्रमको अध्यक्षता विद्यालयकी निर्देशक मन कुमारी गुरुङले गरेकी थिइन् भने प्रमुख अतिथि कानेपोखरी गाउँपालिका–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेत रहेका थिए। बस्नेतले भने, “स्व. गुरुङले जुन बिउ रोप्नुभयो, आज त्यो रुख बनेर सयौं बालबालिकालाई शिक्षा र संस्कार दिइरहेको छ। उहाँ हाम्रो समुदायका लागि प्रेरणा हुनुहुन्छ।”

कार्यक्रममा शैक्षिक निर्देशक केदार धिमाल, प्रिन्सिपल फडिन्द्र अधिकारी, भोला भट्टराई, होमकुमार मोते, अभिभावक प्रतिनिधि तथा स्थानीय अगुवा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।

विद्यालयका शिक्षक जनक ढकालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको कुशल सञ्चालन शिक्षिका मेनुका गौतमले गरेकी थिइन्।

यो कार्यक्रम केवल सम्मानको अवसर मात्र थिएन, यो स्मृतिको पुनर्जागरण थियो।
पर्ल एकेडेमीले जुन किसिमले गुरुङको सम्झनालाई जीवित राख्दै शिक्षालाई सामाजिक परिवर्तनको साधन बनाइरहेको छ, त्यो सम्पूर्ण देशभरका विद्यालयका लागि उदाहरणीय बनिरहेको छ।

गाउँको एउटा सानो सपनाले कसरी शिक्षाको ठूलो आन्दोलनमा रूपान्तरण लिन सक्छ भन्ने कुरा स्व. डम्बर सिंह गुरुङको जीवनले देखाएको छ। उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै, विद्यालयले भावी पुस्तामा देशप्रेम, सेवा र शिक्षा प्रतिको समर्पण भावना रोप्ने अठोट दोहोर्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित