क्यान्सरपीडित वरिष्ठ पत्रकार कवीन्द्र शेर्माको उपचारका लागि सुनसरीबाट पनि भावनात्मक सहयोग भक्तपुरमा उपचाररत शेर्मालाई देश–विदेशबाट जुट्दैछ सहयोगको सहारा

लजेस राई
धरान प्रदेश १

पाँचथरका वरिष्ठ र समर्पित पत्रकार कवीन्द्र शेर्मा हाल घाँटीको क्यान्सर रोगसँग जीवनमरणको संघर्ष गरिरहनुभएको छ। दशकौँदेखि कलम चलाउँदै समाजको आवाज बनेका शेर्मा आज आफैं अरूको आवाज र सहयोगको प्रतीक्षामा हुनुहुन्छ।

उहाँको उपचारमा सहयोग जुटाउन विभिन्न संघसंस्था र व्यक्तिहरूको आत्मीय पहल चलिरहेको छ। यही क्रममा, आज सुनसरीको धरानस्थित किराँत याक्थुङ चुम्लुङ सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत सुनसरी जिल्ला पत्रकार संघले पत्रकार शेर्मा बचाउ अभियानमा साथ दिँदै रु २६,६६१ आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग रकम मोबाइल बैंकिङमार्फत अभियान संयोजक निलिफा सुब्बाको खातामा हस्तान्तरण गरिएको लिम्बु पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णिमहाङ लिम्बुले जानकारी दिनुभयो।

कार्यक्रममा संयोजक निलिफा सुब्बाले पत्रकार शेर्माको अवस्था गम्भीर रहेको र उहाँ भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेको जानकारी दिइन्। उनका अनुसार, हाल किमोथेरापीको चरणमा रहेका शेर्माको उपचार खर्च अत्यन्तै उच्च भएकाले देश-विदेशबाट सहयोगको अपेक्षा गरिएको छ।

यसअघि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत शेर्मालाई रु ३ लाख ८७ हजार आर्थिक सहयोग हस्तान्तरण गरिसकेको छ। फोनिजका अध्यक्ष गजुरधन राई र सङ्गठनका अन्य नेताहरूको पहलमा गरिएको उक्त सहयोगमध्ये, रु ३ लाख ६० हजार दक्षिण कोरियामा रहेका नेपालीहरूबाट संकलन गरिएको थियो भने बाँकी रकम नेपालमै जुटाइएको हो।

पत्रकार शेर्मा पाँचथर जिल्लामा बसेर पत्रकारितामार्फत सिंगो समाजको आवाज उठाउँदै आउनु भएको थियो। तर आज, त्यो स्वर घाँटीको रोगले दबिएको छ। उहाँको जीवन बचाउन सहयोगदाताहरूले देखाएको सहृदयता केवल आर्थिक सहयोग मात्र होइन, एकजना सत्यको आवाजलाई जीवित राख्ने सामूहिक प्रयास हो।

शब्दले आँसु थाम्न सक्दैन। तर यस्ता सहयोगले आँसुलाई आशामा बदल्ने शक्ति दिन्छ। पत्रकार शेर्माका लागि एक एक हातले दिएको सहयोग उहाँको जीवनमा नयाँ आशाको घाम बन्न सक्छ।

लजेश राई Dharapani online media
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित