ए! प्रीय गायक,
अब तिमी यौटा यस्तो गीत गाइदेऊ कि
शहरका
सारा गाउँका
परदेशीहरूका
हृदयमा प्रेमभाव जगाइदेऊ
सदभावनाका बिजहरू अंकुराइदेऊ
जुन गीत सुनेर मान्छेहरू मनुष्य बन्न सकून्।
ए! प्रीय संगीतकार,
तिमी यौटा यस्तो संगीतको धुन तयार पारिदेऊ
जसलाई सुनेर मनुष्यहरूका मन अनि मस्तिष्कमा
शान्तिको तंरग उत्पन्न होस्
आत्मविभोरताले हर्षाशुको वर्षा होस्
वियोगी मनहरूमा मिलनका आशाहरू पल्लवित होऊन्।
ए! प्रीय कलाकार,
तिमी कलाकार हौ
आफ्नो कलाको दुरुपयोग नगर्नू
आफ्नो कलाकारितालाई तिमी
नग्नताले सिंगार्न छोडिदेऊ
बनाऊ शान्तिको मधुवन
जहाँ रम्न सकियोस् मनुष्य जीवन
देखाऊ सुन्दर नृत्य
आँखा झिमिक्क नगरून् हेर्नेहरूले
यौटै उद्यानका फूलहरू हुन्
क्रोध, उत्तेजना, घमण्ड, ईर्ष्या
सबै-सबै भुलाइदेऊ
एकै तालमा ताली बजोस्
अनि
गुञ्जियोस् विश्वभर मधुरता
अनि
गाँसियोस् सुमधुर सम्बन्धहरू।
ए! प्रीय कवि,
लेखिदेऊ तिमी यस्तो यौटा कविता
रोकून् हत्या र हिंसा
बदल्दै जाओस् कू-संस्कार र कू-रिति
अनि
अन्ध-विश्वाशका पथहरू
रोकून् पलमै धरा ध्वस्त बनाउँने रकेट र मिसाइलहरू बनाउँन
प्रीय कवि,
तिमी लेखिदेऊ जगतमा
विद्रोह गरेर रगतको आहाल बगिरहेको छ
अब नबगोस् आँशु र रगत जगतमा
तिमी लेख्नु आत्म-सन्तुष्टिका रहस्यमय जीवन
तिमी लेख्नु हरेक हृदयको स्पन्दन
जहाँ धड्किरहोस्
आत्मियता, सहिष्णुता, भाइचारा, मेल-मिलाप, सदाचार
अनि
हामी एकै हौं भन्ने भावना
वियोगको रापमा जलेका भन्दा
मिलनका आशले जिएका मनहरूको भावना लेख्नु
दु:खले गलेका जीवन भन्दा
संघर्षले मिलेका सफलताहरू लेख्नु
अनि
ए! मेरो प्रीय कवि,
सबैले तिमीलाई पढ्नेछन्
तिम्रा कलमका पदचापहरू रहिरहनेछन्
तिम्रा अमिट लेखनीले जीवन्त रूप लिनेछ
अनि एकदिन यो विश्व
पवित्र लोक बन्नेछ
यहाँ केवल मानवता रहनेछ
यहाँ सदा-सर्वदा कायम रहनेछ अस्तित्व मनुष्यको।
– “अमृता योङहाङ”
Discussion about this post