लजेस राई
धरान प्रदेश न१
धरान, २२ भदौ २०८१ – धरान उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई घर निर्माण तथा खाली जग्गाको प्रयोग सम्बन्धी तीनवटा महत्वपूर्ण बुँदामा अनुरोध गरेको छ।
नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा भनिएको छ कि घर निर्माण गर्दा अनिवार्य नक्सा पास वा सूचनाकरण गर्नुपर्नेछ। यसले नगरपालिकामा घरहरूको वास्तविकता अभिलेख गर्न सहज हुने र कर प्रणाली सुदृढ बन्ने जनाइएको छ।
त्यस्तै, घरधनी र भाडामा बस्नेहरूलाई पनि वडाबाट स्वीकृति लिएर मात्र बस्न र बसाउन अनुरोध गरिएको छ। कुनै विवाद उत्पन्न भएमा नगरवासीहरूको जिम्मेवारी रहने सूचनामा उल्लेख गरिएको छ। यसले नगरमा सुरक्षाको प्रत्याभूति गर्ने बताइएको छ।
त्यसैगरी, उपमहानगरपालिकाभित्र रहेका खाली जग्गामा अनधिकृत कब्जा वा फोहोर फाल्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ। आफ्नो सीमाभित्रको जग्गामा घेराबार लगाउन आग्रह गरिएको छ, ताकि जग्गा सुरक्षित रहोस्।
नगर प्रमुख हर्कराज राईद्वारा हस्ताक्षरित सूचनामा नगरको सुव्यवस्थित विकास, सेवा सुविधा तथा सुरक्षित वातावरणका लागि नागरिकको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ।
Discussion about this post