धरान : धरान प्रहरीले मध्यरातमा ३ राउन्ड हवाई फायर गर्दै  ४५५ किलो गाँजासहित एक जना तस्करलाई नियन्त्रणमा लिएको छ।

बिष्णुपादुका हुँदै रेल्वेतर्फ जाने जङ्गलको भित्री पैदल बाटो हुँदै गाँजा बोकेर आइरहेका केही  भरियाहरूलाई प्रहरीले रोक्न खोज्दा उनीहरू भाग्न थाले। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गर्‍यो। गोली चलेपछि तस्करहरू तितरबितर भए, तर एक जना पक्राउ परेको प्रहरी निरीक्षक कुँवरले बताए ।

पक्राउ परेका भरियासँग ९ वटा बोरामा प्लास्टिकसहित २३० किलो र प्लास्टिकबाहेक २२५ किलो गरी कुल ४५५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। फरार रहेका अन्य भरियाहरूको खोजी जारी रहेको निरीक्षक कुँवरले जानकारी दिए।

प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार, लागु औषध कारोबारले समाजमा गम्भीर असर पारिरहेको छ। उनले भने, “हेर्दा यस्तो लाग्छ, प्रहरीले एक जनालाई गोली हानेर नियन्त्रणमा लियो। तर, प्रश्न यो हो— उसले बेचेको गाँजा अथवा लागू औषधले कति युवाहरू कुलतमा फसे? कति परिवार उजाड भए? कति घरबार भत्किए? यो कमैले सोच्ने गर्छन्।” उनका अनुसार लागु औषध कारोबारका कारण एउटा व्यक्ति मात्र नभई सिङ्गो समाज सङ्कटमा पर्दै गएको छ।

धरान प्रहरीले यसअघि मङ्सिर १९ गते पनि चार राउन्ड गोली चलाएर ६९० किलो गाँजा बरामद गरेको थियो। पछिल्ला घटनाक्रमहरूले धरान क्षेत्रमा लागु औषध ओसारपसारको गतिविधि अझै सक्रिय रहेको देखाएको छ। प्रहरीले यो जालो ध्वस्त पार्न थप कडा निगरानी र अपरेसन सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित