सोनाम ल्होछारमा कांग्रेसको सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान

धरान । सोनाम ल्होछारको अवसरमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा तथा पूर्व केन्द्रीय सदस्य एवम् पूर्व संघीय सांसद मीना सुब्बाको प्रमुख आतित्थ्यमा सोनामा ल्होछार–२८६१ को अवसरमा धरानमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा तामाङ जातिको प्रसिद्ध मौलिक तामाङ सेलो नृत्य, साङ सेरगेम र गीतहरु प्रस्तुत गरिएको थियो । स्थानीय कलाकार राम तामाङ, मनोहर श्रेष्ठ र प्रेमजंग क्षेत्रीले गीत गाएर सबैलाई नचाएका थिए । अधिकांश सहभागीहरु तामाङ भेषभुषामा आएका थिए । उनीहरु तामाङ सेलो र गीतमा अति नै रमाईलो गर्दै नाचेका थिए । कार्यक्रममा तामाङ जातिको मौलिक खाद्य परिकार खाप्स्यो समेत खुवाईएको थियो ।

सभापति तामाङले वहुभाषिक, वहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देश भएको र नेपाली कांग्रेसको नेतृत्वमा वनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ ले यो विविधतालाई अपनत्व गरेको तथा पाटीमा समेत सबै जाति र धर्म समुदायहरु सदस्य रहेको भन्दै हरेक जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत सांस्कृतिक एवम् धार्मिक चाडपर्वहरुलाई दशैं र तिहार जस्तै मनाउने संस्कृति र परम्परा गत वर्षदेखि शुरुवात गरेर नेपाली कांग्रेसले सबैको संस्कार, संस्कृति र धर्मलाई सम्मान गरेको बताए । उनले यो कुनै राजनीति गरेको नभई कर्तव्य पूरा गरेको प्रष्ट्याए ।

कार्यक्रममा प्रमुख अतिथि मीना सुब्बाले विभिन्न जातजातिको मौलिक पर्वहरुका अवसरमा शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम र चियापान गरेर सुनसरी १ नं. क्षेत्रीय कार्यसमितिले सामाजिक सद्भाव वृद्धि गरेको वताए ।

नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले नेपाली कांग्रेसले विभिन्न समुदायको चाडपर्वहरुका अवसरमा कार्यक्रम गरेर पार्टी र नेतालाई समुदायसंग जोड्ने काम गरेको बताउंदै क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताए । उनले तामाङ समुदायवाट उल्लेख्य उपस्थित भएको भएपनि महाधिवेशनमा पद खोज्न होडवाजी गर्ने पार्टीका जिम्मेवार नेताहरुको जनता र समुदायसंग जोडिने महत्वपूर्ण कार्यक्रममा सहभागीता नदेखिएको भन्दै दुःख व्यक्त गरे ।

महासमिति सदस्य एवम् प्रदेश सांसद ममता तामाङले हरेक जातजाति र समुदायको महत्वपूर्ण पर्वहरुका अवसरमा गर्ने यस्ता कार्यक्रमले कांग्रेसलाई समुदायसंग जोडेको बताए ।
नेपाल तामाङ घेदुङका धरान नगर उपाध्यक्ष सम्फर तामाङले राजनीतिक पाटीले सोनाम ल्होछार पर्व लगायत जातजाति समुदायको मौलिक चाडपर्व मनाउन थालेकोमा खुशी र प्रशंसा व्यक्त गरे ।

तामाङ सेवा समाज धरानका अध्यक्ष सिताराम वल तामाङले नेपाली कांग्रेसले हरेक समुदायको चाडपर्व मनाएर सांच्चिकै लोकतान्त्रिक पाटी भएको पुष्टि गरेको बताए । उनले जुनसुकै दलले आयोजना गरेको पनि सोनामा ल्होछार पर्व भएकाले सबै आस्थाका तामाङहरुको सहभागिता हुनुपर्छ भन्दै तामाङ भाषा पठनपाठनका लागि राज्यले व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपाल तामाङ संघ सुनसरीका सभापति मनोज तामाङले राजनीतिक पार्टीस्तरवाट तामाङ समुदायलाई समेत बोलाएर आप्mनो सोनामा ल्होछार मनाईदिएकोमा कांग्रेसलाई धन्यवाद दिंदै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरु शोभा पुलामी, उमेश पौडेल, दिनेश श्रेष्ठ, शिखा चेम्जोङ, ललिता वास्तोला, मिना केसी, प्रदेशसभा १(१) का सचिव युवराज शंकर, प्रदेशसभा १(१) कोषाध्यक्ष रविना सुब्बा गुरुङ, नगर सचिव हिमाल श्रेष्ठ, नगर सदस्य नरेन्द्र राई, नेपाल तरुण दल धरानका सभापति राम तामाङ, सचिव मनोहर श्रेष्ठ, वडा सचिव गजेन्द्र लिङ्थेप, ओखलढुङ्खा सेवा समाजका अध्यक्ष दिलबहादुर गोले, नेपाल तामाङ महिला घेदुङका नगर अध्यक्ष गोमा गोले, नेपाल तामाङ महिला घेदुङ धरान १५ का अध्यक्ष माया गोले लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सह–सचिव सुमित राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित