धरानमा वडा अध्यक्ष र महाशाखा प्रमुखको मिलेमतोमा नियम विपरीत शिक्षक सरुवा

नबिन सेन्चुरि
धरान । धरान उपमहानगरपालिका शिक्षा महाशाखाले आफैले बनाएको नियमावली उल्लङ्घन गर्दै एकबाट अर्को विद्यालयमा शिक्षक सरुवा गर्दै आएको खुलासा भएको छ ।

धरान-२० विष्णुपादुका स्थित भालढुंगा माध्यमिक विद्यालयमा डेढ वर्ष अघि मात्र सरुवा भएर आएकी शिक्षिका कृष्णकला लिम्बूलाई धरान-११ को ज्ञानोदय माविमा मङ्सिर २६ गते सरुवा दिइएको छ । ज्ञानोदय माविका शिक्षकहरूले भने यसरी सरुवा गर्दा उनीहरूको वृत्ति विकासमा असर पर्ने भन्दै असन्तुष्टि जनाएको व्यवस्थापन समिति सदस्य कला राईले बताएकी छिन् ।

ज्ञानोदयमा नै पुनः भालढुंगा प्रावि तहकी अर्की शिक्षिका कविता राईलाई पनि सरुवा गर्ने प्रक्रिया सुरु गरिएको थाहा भएपछि असन्तुष्टि झन् बढेको उनले बताइन ।

सरुवा नियमावली विपरीत:
धरान उपमहानगरपालिका शिक्षा नियमावली २०७४ को दफा ५७ को उपदफा १,२,३,४ अनुसार एक पटक सरुवा भएका शिक्षकले त्यस विद्यालयमा साधरणतया अर्को पटक सरुवा लिन चाहे ४ वर्ष पुगेपछि मात्र सरुवा लिने प्रावधान रहेको छ ।

नगरपालिका भित्र एकअर्को विद्यालयमा तह तथा विषय मिल्ने दरबन्दी भित्र सरुवा गर्दा प्रमुख प्रशासकीय अधिकृतले सरुवा गर्न सक्ने व्यवस्था छ भने शिक्षक सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिने व्यवस्था छ ।

शिक्षा मन्त्रालयको शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ परिच्छेद ३ को दफा ९ को उपदफा १ अनुसार शिक्षक सरुवा गर्दा स्थानीय तहले दफा ९ बमोजिम १५ दिन भित्र सम्म वेबसाइट वा सूचना पाटी र विद्यालयमा सूचना प्रकाशन गर्नुपर्ने छ ।

सरुवा अनुमति दिँदा उपमहानगरपालिकाकै ४ वर्ष पुगेपछि मात्र सरुवा लिने प्रावधानको ठाडो उल्लङ्घन गरिएको छ । नियमावली अनुसार सूचना पाटीमा सूचना टाँस गर्नुपर्ने नियम रहे पनि विद्यालय र शिक्षा महाशाखाले कुनै पनि प्रक्रिया नअपनाई गुपचुपमा गरिएको ज्ञानोदयकी व्यवस्थापन समिति सदस्य राईको आरोप छ ।

शिक्षा महाशाखा प्रमुखको मनोमानी
नियम विपरीत शिक्षक सरुवा गर्ने कार्य:

धरान उपमहानगरपालिका शिक्षा महाशाखाको मनोमानीले मुख्य भूमिका खेलेको व्यवस्थापन सदस्य राईले आरोप लगाएकी छिन् । उनका अनुसार शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा र शिक्षा समितिका सदस्य धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोको मिलेमतोमा सरुवाको प्रक्रिया भएको हो ।

शिक्षा महाशाखाका प्रमुख खतिवडाले शिक्षक सरुवा अनुमति प्रमुख प्रशासकीय अधिकृतले मात्र गर्ने नियमावलीको प्रावधानलाई ठाडो उल्लङ्घन गर्दै प्रशासकीय अधिकृत नभएका बेला सरुवा अनुमति दिएको उनले आरोप लगाइन् ।

प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई मङ्सिर १६ गते सरुवा लिएर गएका थिए । अर्का प्रशासकीय अधिकृत अम्बिका चौलागाई पुस ३ गते उपमहानगरपालिका हाजिर भएका थिए । दुवै प्रशासकीय अधिकृत नभएको बेला महाशाखा प्रमुख खतिवडाले मङ्सिर २६ गते शिक्षिका लिम्बूलाई सरुवाको स्वीकृति दिएका हुन । भालढुंगाका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले मङ्सिर २७ गते रमना दिएका छन् ।

नगर प्रमुख हर्क साम्पाङको आदेशमा सरुवा
नियम विपरीत शिक्षक सरुवा गरिएको बारे शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासँग सम्पर्क गर्दा उनले शिक्षक सरुवा नगर प्रमुख हर्क साम्पाङको निर्णयको आधारमा भएको बताए । उनले भने ‘शिक्षक सरुवा मेयर साबको निर्णय अनुसार भएको हो ।’ उनले धरान उपमहानगरपालिकाको शिक्षा नियमावली नै नबनेको बताए । तर उपमहानगरपालिकाको वेबसाइटमा भने शिक्षा नियमावली राखिएको छ । उक्त नियमावली २०७४ सालमा बनेको हो ।

उपमहानगरपालिकाले अधिकांश पुरानै नियमावलीहरू अनुसार कार्य गर्दै आएको छ । उक्त शिक्षा नियमावलीमा संसोधन गरेको छैन ।

शिक्षा समिति सदस्यको नातेदार भएकोले
सरुवा भएकी शिक्षिका लिम्बू शिक्षा समिति सदस्य धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोको साइनोमा छोरी हुन । अर्की शिक्षिका राई फागोका ज्वाइँ ज्ञानोदयका शिक्षक रिद्धि कुमार राईको भाउजू भएको व्यवस्थापन समिति सदस्य राईले बताइन् ।

आफ्ना नातेदारलाई पायक पर्ने सुगम ठाउँमा सरुवा गराउन वडाध्यक्ष फागोले विद्यालयमा व्यवस्थापन समिति खारेज समेत गराएको आरोप राईले लगाइन् । फागो ज्ञानोदय स्कुलका व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुन । यस विवादका बारेमा वडाध्यक्ष फागोको भनाई लिनु फोन सम्पर्क गर्दा ‘अहिले मलाई फुर्सद छैन भरै फोन गर्छु ।’ भनेर फोन काटिदिए । उनले पुनः फोन भने गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)