धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई कहाँ, कति बजे, कुन मिडियामा के कसरी धम्की दिएको हो भन्दै प्रमाणित गरिदिन चुनौती दिएको छ ।
धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने गरेको भन्ने निर्मता शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई दिएको प्रतिवेदनमा उल्लेख भएपछि मेयरको ध्यानाकर्षण भएको हो । मेयर साम्पाङले मंगलबार पत्रकार सम्मेलन गर्दै धम्की दिएको कुरा प्रमाणित गर्न चुनौती दिएको हो ।
नगर प्रमुखलाई मित्थ्या आरोप लगाएको समाचार मिडियाहरुमा आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको नाममा जसले जस्लाई पनि जथाभावी आरोप लगाउन मिल्दैन उल्लेख छ ।
जारी प्रेस बिज्ञप्तिमा आरोप पुष्टी गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिभ्रो, कलम या क्यामेरा चलाउनु हुँदैन भनिएको छ । पत्रकारले समाजलाई विभक्त गर्ने विग्रह र कहल ल्याई आतंक सृजना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नु हुँदैन। स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकता अनुसार काम गर्न सक्दछ भनिएको छ ।
`सत्य तथ्यलाई बाहिर ल्याउनु पत्रकारको परम कर्तव्य हो तर भ्रम सृजना गरेर अपुष्ट बिना प्रमाणका सामाग्री सम्प्रेषण र प्रसारण गर्दा देश र जनतालाई आघात पुग्ने र लोकतन्त्रको नाममा दलतन्त्र हावी हुने देखिन्छ । मूलधारका पत्रकार भनेर आफुलाई ठान्नेहरुलाई आज जनताले कसरी मूल्याङ्कन गरिरहेकाछन् त्यो सबैलाई थाहा छ ! सत्य संधै लोकपृय हुन्छ । सत्य समाचार लेखे र प्रसारण गर्नेलाई लोकले माया गरेकै छन् र गरिनै रहनेछन् तर राजनीतिक दलको आडमा अनि राजनीतिक दलका पक्षमा पूर्वाग्राही ढङ्गले पत्रकारिता गरिन्छ भने लोकले त्यस्त मिडिया विरुद्ध जनताले प्रतिवाद गरिनै रहन्छ । जनताको मुख थुन्न कसैले सक्दैनन् लोकतन्त्रमा ।´
बिज्ञप्तिमा देशको माया बोकेर जनताको सेवा र सुविधाका लागि आफुलाई समर्पित गर्ने, खोलाखोल्सी, डाँडा काँडा, झोर जंगल, भीरपाखा, घामपानी, जाडो चिसो नभनी एउटा निर्जीव औजार सरि देश र जनताका लागि घोटिने एउटा देश भक्त जनप्रतिनिधिलाई निरंकुश बनेको आरोप लगाउन अघि लोकतन्त्रको अर्थ र परिभाषा बुझ्दा राम्रो हुनेथ्यो ।´
पार्टीको आडमा संगठनको भरमा कुनै व्यक्ति या संस्थालाई विना प्रमाणको आरोप लगाई हिलो छ्याप्नुलाई लोकतन्त्र भनिन्छ भने नेपाली जनताले वास्तविक लोकतन्त्रको लागि फेरि पनि आवाज उठाउनु पर्ने देखिन्छ उल्लेख छ ।
पत्रकारिता स्वतन्त्र बन्न सक्नु पर्दछ र समाजमा सृजना, एकता, विकास र प्रगतिको कार्य गर्नु पर्दछ भन्दै यसतर्फ देशकै शान्ति सुरक्षाको जिम्मा लिइबसेको गृह मन्त्रालय र गृह प्रशासनको ध्यानाकर्षण हुनु पर्ने जनाएको छ । आफवाह र भ्रम फैलाई विग्रह, कलह, ध्वम्स र विनाश निम्त्याउनु नहुने भन्दै सबैको बुद्धि पलावोस भन्ने कामना गरेको छ ।
Discussion about this post