धरान । यहि माघ १२ गते दिनको ४ बजे मुकुम्लुङ संघर्ष समिति तथा स्थानीयमाथी गोलि चलाएको विरुद्ध माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ ।
मुकुमलुङ बचाओ संघर्ष समितिका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएको छ । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ संयङ) सहजीकरण समूहले हस्ताक्षर गरिएको छ ।
बिज्ञप्तिमा सशस्त्र प्रहरीले मुक्कुमलुङ संरक्षणकारी योद्धाहरूमाथि २०८१ माघ १२ गते साँझ खाना खाइरहेको अवस्थामा बर्बर दमन गर्दै निर्मम गोली चलाएको उल्लेख छ । कुटपिट गरी थुप्रैलाई घाइते बनाएको भन्दै गोली लागेर घाइते हुनेहरू याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, मंगल लावती रहेको उल्लेख छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरी हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाएको छ ।
बेकशुरमा निर्मम लाठीचार्ज गर्दै गोली प्रहार गरेर घाइते बनाएको भन्दै दलाल माफिया पूँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको रूपमा मात्रै भुमिका निर्वाह गरेको आरोप लगाउदै मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने अडान छ । शान्तिपूर्ण प्रदर्सनको लागि भेला भएको समुहमा गोलि चलाएकोले अनिश्चितकालिन बन्द आहृवान गर्न बाध्य भएको उल्लेख छ ।
यसैबीच १४ गते चन्द्र ढकाल आबद्ध ग्लोबल आइएमइ बैक अगाडि शान्तिपुर्ण धर्नाको कार्यक्रम समेत आयोजना गरिएको छ ।
बन्द गर्नुपर्ने माग मुद्दाहरूसहित निम्न अनुसार आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दछौं ।
१. मिति २०८१ माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्द मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द घोषणा गरिएको छ ।
२. मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउने, नितिगत भ्रष्टाचार गर्दै अकुत सम्पती कमाएका माफिया दलाल चन्द्र ढकालको ग्लोबल IME बैंकमा रहेको खाता बन्द गर्न सबैलाई आव्हान गर्दछौं । सम्भव हुने ग्लोबल IME बैंकका सबै शाखाहरूमा मिति २०८१ माघ १४ गते १:०० बजे शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने । ढकालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल IME बैंक बन्द गर्नु पर्ने ।
३. ब्यापक असहमतिका वाबजुद मुन्धुमीस्थलमा केबलकार बनाउन खोज्ने माफिया दलाल चन्द्र ढकाल र कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने ।
४. बशगद्दार मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने ।
५. पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने ।
६. दलाल चन्द्र ढकालको कारिन्दाको रूपमा मात्रै काम गरिरहेका ताप्लेजुङका असक्षम सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने र निजहरूलाइ कडा कार्वाही गर्नुपर्ने ।
७ राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजी लगायतका बिसयमा कोण सभा, धर्ना कार्यक्रम गर्ने ।
यसैबीच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समेत घटना बारे प्रेस बिज्ञप्ति जारी गरिएको छ । घटना भएपछि माघ १२ गते र घाइतेको उपचारको विषयमा १३ गते बिज्ञप्ति जारी गरिएको छ । बिज्ञप्तिमा १२ गते सदाझै नियमित सुरक्षा गस्ती गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त गस्तीले केही संकास्पद गतिविधि भएको सूचनाको आधारमा बल्लुडाँडास्थित निशा राई र रमेश राईको गाई गोठमा सामान्य अनुगमन गर्दा घरेलु हतियार बामफोक, खुकुरी, गुलेली र लठ्ठी समेत नियन्त्रणमा लिने क्रममा फुङलिङ नगरपालिका वडा नं. ११ वल्लुडाँडामा मिति २०८१।०१।३१ मा रुख कटान भएको दिनदेखि नै अस्थायी डेरा जमाई बसेका केवलकार निर्माण विरोधी समूह र सुरक्षाकर्मीबीच सामान्य विवाद भएको उल्लेख छ ।
गस्ती गर्दै अगाडी बढेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त गस्तीका कमाण्डर प्र.नि. सहितको टोली माथि केवलकार विरोधी समूहबाट एक्कासी ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गरी आक्रमणमा उत्रिए पश्चात उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीबाट आत्मरक्षाको अन्तिम विकल्पको रुपमा हवाई फायर गर्ने सम्मको अवस्था प्रदर्शनकारी समूहकै कारण सिर्जना भएको उल्लेख छ ।
उक्त घटनाबाट सुरक्षाकर्मी तर्फ २१ जना प्रहरी कर्मचारी घाइते भएकोमा १४ जना उपचार पश्चात Discharge भई आराम गरिरहेको र प्र.नि. सहितका ७ जना प्रहरी कर्मचारी जिल्ला अस्पताल, ताप्लेजुङमा हालसम्म उपचारमा रहेको जनाएको छ ।
जिल्ला प्रशासनले जारी गरेको बिज्ञप्तिमा घटनालाई लिई केही Youtube समेतका अनलाईन सञ्चार माध्यमहरुबाट सत्य-तथ्य बंग्याई आम नागरिकमा भ्रम सिर्जना हुने गरी प्रकाशित समाचारप्रति स्थानीय प्रशासनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता गतिविधिलाई विशेष निगरानीका साथ लिइएको भन्दै कानून बमोजिम राष्ट्र सेवक कर्मचारीबाट कार्यसम्पादन गर्ने क्रममा सिर्जित अवरोध प्रति जिल्ला सुरक्षा समिति घोर भर्त्सना गर्दछ उल्लेख छ ।
मुकुमलुङ घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोग विभिन्न संघसंस्था लगायतबाट बिज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।
Discussion about this post