बुटवल । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अनुसन्धानमा हिरासतमा रहेका रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि पक्राउ गर्न अदालतले आदेश दिएको छ ।
सुप्रिम सहकारी तथा वचत कर्ता नारायण पहराईको जाहेरीले नेपाल सरकार वादी रहेको भन्दै छबिलाल जोशी रबि लामिछाने सहित १२ जनालाई पक्राउ गर्न आदेश जारी गरिएको छ । रुपन्देही जिल्ला अदालतले आदेश जारी गर्दै हाल अनुसन्धानको क्रममा रहेका नेपाल प्रहरीका छविलाल जोशी बञ्जाडेसँग रुपन्देहीको सरकारी वकिल कार्यालयले दुई दिन बयान लिएपछि जिल्ला अदालतले रविलगायत १२ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।
आदेशमा – “इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीको च.नं.२०६७, मिति २०८१/०७/०८ गतेको पत्रबाट विपक्षीहरु छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त वावु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जि.सी र शिव बहादुर गुरुङ्ग समेत गरी जम्मा १२ जनाको नाउँमा पकाउ पूर्जी जारी गर्न अनुमति पाउँ भनी माग भई आएको देखियो उल्लेख छ।”
आदेशमा सुप्रिम बचत तथा ऋण शहकारी संस्थाको बचत रकम यी विपक्षीहरु संलग्न रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि. समेतका कम्पनीहरुमा जम्मा (Deposit) भएको देखिएको र जाहेरी दरखास्त तथा पत्रमा उल्लेख गरिएका कम्पनीहरुमा यी विपक्षीहरु शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ्ग कारोवारमा आधिकारिक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिए समेतको आधारबाट यी विपक्षीहरु छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ्ग, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिका री, नरेश जि.सी र शिव बहादुर गुरुङ्ग समेत गरी जम्मा १२ जनालाई संगठित रुपमा सहकारी ठगी सम्बन्धी कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम पक्राउ गर्न अनुमति दिएको जनाएको छ।
Discussion about this post