तिहार र बलिराजा – चन्द्रप्रकाश वानिया

आज कोजाग्रत पूर्णिमा ! आजदेखि भैलो खेलिने परम्परा छ । अर्थात अब तिहार सुरु भयो । उसो त तिहार पाँच दिनको हुन्छ । तिहार के को उपलक्षमा मनाइन्छ भन्ने विषयमा हिन्दू समुदायमा दुईवटा कथा प्रचलनमा छन् ।

१). १४ वर्षको वनबासपछि राम अयोध्या फर्केको उपलक्षमा दिपावली गर्न थालिएको हो भनिन्छ । तर वाल्मिकि रामायणमा उल्लेख भएको रामको पुनरागमनको समयसंग तिहार मनाइने समय मिल्दैन ।

२).यम यमीको कथासंग पनि तिहार जोडिन्छ । त्यसैले तिहारलाई यमपञ्चक पनि भनिन्छ । लक्ष्मीपूजा (धनपूजा) पनि मानिन्छ ।

इतिहासमा भने फरक कथा देखिन्छ । एघारौं शताब्दीमा भारत आएका फारसी विद्वान अल्बेरुनीले भारतको इतिहास लेखेका छन् । पर्व उत्सवहरुको वर्णन गर्दै उनले आफ्नो पुस्तकको सत्रौं अध्यायमा दिपावलीको फरक कथा लेखेका छन् ।

अल्बेरुनीका अनुसार औंसीपछिको दोस्रो दिन धुमधामले उत्सव मनाइन्छ र त्यो उत्सव बलिराजासंग जोडिएको छ । समाजको मान्यता अनुसार सातौं पातालमा कैद गरिएका बलिराजालाई वासुदेव पत्नी लक्ष्मीले त्यो एक दिन कैद मुक्त गरिदिन्छिन् । बलीराजा मुक्त हुने त्यही एकदिन जनताले धुमधामसंग दिपावली मनाउँछन् ।

अर्थात दिपाबली हिन्दूहरुले होइन, पहिले बलिराजाका शुभचिन्तक समर्थकहरुले मनाउँथे । भैलो माग्नेहरुले बलिराजाको नाम लिने परम्परा आजपर्यन्त नेपाली समाजमा छ ।

अल्बेरुनीले तत्कालीन समाजमा रहेको प्रचलन देखेर, कथा सुनेर टिपेका हुन् । एघारौं शताब्दीमा आएका अल्बेरुनीले सुनेको कथा आजका मितिसम्म आइपुग्दा हराइसकेको छ । अर्थात कमसेकम एघारौं शताब्दीसम्म तिहारको कथा फरक रहेछ । एघारौं शताब्दीपछि मात्र कथा र प्रचलन परिवर्तन भएको रहेछ ।

स्मरणीय कुरा के देखिन्छ् भने बाह्रौं शताब्दीमा देवनागरी लिपि पूर्ण बन्यो । संस्कृत साहित्यहरु लेखिन थाले । पुराणहरु लेखिए । पुराणहरुमा फरक कथा लेखियो । मानिसहरुले पुरानो कथा बिर्से । नयाँ कथा भन्न सुन्न थाले । त्यसरी कालान्तरमा बलिको नाममा मनाइने पर्व यमराज र रामसंग जोडियोहोला ।

लेखक : चन्द्रप्रकाश वानिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित