धरान । कार्यवाहकको विषयलाई लिएर धरान उपमहानगरमा विवाद भएको छ । मेयर हर्क साम्पाङले युके जानेबेला धरान उपमहानगरपालिका ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक दिएपछि उप मेयर आइन्द्र बेघाले असन्तुष्ट जनाएको हो ।
उपमेयर बेघाले बिहिवार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै कानुनी प्रक्रिया बिपरित रहेको दाबी गरे । नेपालको संविधान २०७२ को भाग- १७ को स्थानीय कार्यपालिका गठन सम्बन्धी धारा २१४ देखी २३० सम्म व्यवस्था भए वमोजिम गठन भएको सरकार र सो सरकार संजालन गर्न बनेको स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (१) को क(१२) मा अध्यक्ष वा प्रमुख सात दिनभन्दा बढी नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यावाहक दिने दुबै अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने र (ख) २ मा अध्यक्ष वा उपप्रमुखले कार्यभार सम्हाल्ने प्रष्ट लेखिएको हुनाले उल्लेखित कानुनी व्यवस्था विपरीत नगर प्रमुखले कानूनी प्रक्रिया तथा विधि विपरित कार्यवाहक तोकेकोले गम्भिर प्रश्न उठेको छ। नैतिकता र कानूनी प्रश्नले सिंगो संस्थालाई विवादित बनाएको जनाएको छ।
उपमेयर बेघाले बीस वटै बड़ा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, सबै महाशाखा प्रमुखलाई जानकारी पत्र समेत लेख्दै २०७२ को संविधान अनुसार बनेको स्थानिय सरकार, स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ को उपदफा ४. ११) को क(१२) र ख२) मा प्रष्ट लेखिएको हुनाले सोहि बमोजिम नियमानुसार गर्न गराउँन हुन जानकारी पठाएको उल्लेख छ।
वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागोलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका छन । उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।
पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँ मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, १० दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने शर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ ।
Discussion about this post