बानियाँहरुको पहलमा कुनै जमानामा क्षत्री समाज महासंघ गठन भएको थियो । स्व. लालबादुर बानियाँ अध्यक्ष र महासचिव ज्योति बानियाँ रहेको उक्त तदर्थ समितिले विधान बनायो, संस्था विधिवत दर्ता गर्यो र चुनाव गराएर नेतृत्व अन्य थरहरुलाई सुम्पियो । उक्त संघ जीवित छ छैन कुन्नी ? आजकाल कतै देखापर्दैन ।
सचेत गराउँदा गराउँदै पनि त्यो संगठनले केही गल्तिहरु गरेको थियो, जसको परिणामस्वरुप राष्ट्रीय परिदृश्यबाट सिङ्गो जाति हराउँदै जाने परिस्थिति निर्माण हुन गयो ।
के थिए त ती गल्तिहरु:
१). क्षत्री भनेको जाति होइन, जात मात्रै थियो ।
२). क्षत्री एउटै रक्त वंशको होइन, जनैधारी विभिन्न जातिको समूह मात्रै थियो ।
३).क्षत्रीको अलग इतिहास थिएन ।
४) भाषा, संस्कृति थिएन ।
५). बसोबासको निश्चित भूगोल पनि थिएन । तर सबै थियो भनेर भ्रमित रह्यो ।
इतिहास, भाषा, संस्कृति र बसोबासको खास भूगोल भएको जाति “खस” थियो । क्षत्री होइन । किनकी,
१). इतिहासमा खस साम्राज्य थियो ।
२) खसको मौलिक भाषा संस्कृति थियो ।
३).प्रागैतिहासिक कालदेखी चर्चेको भूगोल थियो,
त्यसैले
४). खस एउटा जाति थियो । आदिबासी समुदाय थियो ।
५). जङ्गबहादुर सत्तारुढ नहुँदासम्म खस जाति अस्तित्वमा थियो । समाजमा खस पहिचान थियो, गोर्खाली सेनामा खस थियो, इतिहास त छँदै थियो ।
कसरी मेटियो त पहिचान ?
१).खस भाषालाई गोर्खा भाषा भनियो । त्यसैलाई लिपपोत गरेर नेपाली बनाइयो ।
२).जातिलाई पनि गोर्खा भनियो ।
३).खसहरुलाई जनै भिराएर धमाधम हिन्दूक्रीत गरियो ।
४).वि.१९१३ मा राजा सुरेन्द्रको नामबाट राजाज्ञा जारी गराएर खसहरुलाई क्षत्री भन्न लेख्न बाध्य बनाइयो ।
५).खस बाहेकका आर्य क्षत्रीहरुको पातलो उपस्थिति त छँदै थियो, वर्ण व्यवस्था अपनाउन चाहने जनजातिहरुलाई पनि जनै दिएर क्षत्री नामको एउटा खुकुलो समूहमा रुपान्तरण गरियो ।
कहाँ चुक्यो त क्षत्री महासंघको नेतृत्व :
१). क्षत्री अलग जाति होइन भन्ने बुझेन ।
२). स्वयम् देशको भूगोल डोलाउने राजा पृथ्विनारायण शाहको अभियानमा क्षत्रीहरुले होइन, खस, मगर, गुरुङ र ठकुरीहरुले योगदान गरेका थिए भन्ने कुरा बिर्स्यो । पृथ्विनारायणको दिव्योपदेश पढेन वा पढेर पनि बुझेन
३).माओवादी आन्दोलनमा उठेको पहिचानको आन्दोलन आफ्नो विरुद्ध हो भन्ने भ्रममा पर्यो ।
४).आफ्नो जाति खस हो, त्यो संकटमा परेको छ, पहिचान स्थापित गर्नको लागि पहिचान आन्दोलनसंग जोडिनुपर्छ भन्ने बुझेन ।
५).क्षत्रीको नाममा खुलेका संगठनहरुले त्यही भ्रम बोकेर टुडिखेलमा धूलो उडाए ।
परिणाम के भयो त ?
१). खस जातिको अलग अस्तित्व संविधानले इन्कार गर्यो ।
२). समानुपातिक सहभागितामा हिस्सेदारी गुमायो ।
३). राजनीतिक पार्टी संगठनको नेतृत्वबाट किनारामा पर्दै गयो ।
४). राज्यका अङ्गहरुबाट हराउँदै गयो ।
५). जङ्गी, निजामतिमा देखिनै छोड्यो ।
जाति हराए भाषा संस्कृति हराउँछ । भाषा संस्कृति हराए पहिचान हराउँछ । पहिचान हराए अस्तित्व मेटिन्छ ।
जुन कुरा आफ्नो होइन त्यसैलाई आफ्नो भन्ने, जुन कुरा आफ्नो हो, त्यसलाई आफ्नो नठान्ने उल्टो बुद्धिले अस्तित्व मेट्नु बाहेक अन्य उपलब्धी हुदैनथ्यो ।
क्षेत्रीको भ्रमले खसको अस्तित्व मेटिन थाल्यो तर कसैले पढाएको “आरक्षणले आफ्नो भाग खोस्यो” भन्ने झुटो नारा बोकेर चेतनासून्य खस समाजलाई क्षत्रीको नेतृत्वले दिग्भ्रमित बनाइरहेको छ ।
देशको संविधान, ऐन नियम पढ्ने गर न बन्धु हो ! आरक्षणले तिमीलाई किनारीकृत गरेको होइन, तिम्रो भाग अरु कसैले हाकाहाकी लुड्याइरहेको छ ।
समानुपातिक सहभागिताको स्थापित व्यवस्थाले प्रदान गरेको समानुपातिक कोटाको सबभन्दा ठूलो हिस्सा “खस आर्य” नामको भूतले हसुर्छ !!! आरक्षणको नाममा वितरण हुने कोटा जम्मा ४५% मात्रै हो ।
“आ बैल मुझे मार” भनेर पिठ्युँ थापीदिएपछी आउने परिणाम खस जातिले भोग्दैछ । त्यसको मूल कारण नेतृत्वको अल्पज्ञान हो ।

Discussion about this post