धरान । जल तथा मौसम विज्ञान विभागले असोज १० गतेदेखि १३ गतेसम्म भारी वर्षा हुने भन्दै विपत व्यावस्थापन प्राधिकरणले केही दिन अगाडि नै सतर्कता रहन सचेत गराएका थिए ।
अविरल वर्षाको कारण असोज १२ गते साँझ ६ बजेसम्मको घटनाको विवरण गृह मन्त्रालयका सहसचिव/प्रवक्ता ऋषिराम तिवारीबाट सार्वजनिक गरिएको छ । जस अनुसार ६६ जनाको मृत्यु,६९ जना वेपत्ता,६० जना घाइते भएको उल्लेख छ । आईतबार (असोज १३) गते पनि वर्षा हुने सम्भावना रहेपनि रातिदेखि केही उघ्रिएको र बिहानदेखि प्रदेश १ मा घाम लागेको छ । तर खतरामुक्त भने भएको छैन ।
अविरल वर्षाले सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको कुरा जारी विज्ञप्तिमा उल्लेख छ। विपद्को यस दुःखद घडीमा गृह मन्त्रालय मृतकहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाईका बावजुद काठमाण्डौ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरुको उद्धार कार्य भइरहेको जनाएको छ।
विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले आश्विन १० गतेदेखि आश्विन १३ गतेसम्म चार दिन भारी एवम् अति भारी मनसुनी वर्षा हुने पूर्वानुमान गरे अनुसार गृह मन्त्रालय, मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत आश्विन १० गते आम सर्वसाधारणलाई सतर्क रहन, अति जरूरी अवस्थामा मात्र यात्रा गर्न, खोज तथा उद्धार र प्रतिकार्यको लागि सुरक्षा निकाय एवम् स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहन सूचित गरेको जनाएको छ। साथै सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्न आश्विन ११ गतेदेखि सडकको अवस्था सहज नभएसम्म काठमाण्डौ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाईएको भनिएको छ । विभिन्न सडकखण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनवाट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध समेत गरिएको उल्लेख छ।
उपत्यकामा भएको घटनालाई लिएर सरकारको चौतर्फी आलोचना भएको छ । मौसम पूर्वानुमान भइसक्दा पूर्व तयारी नगरेको,बाढीमा फसेकालाई हेलिकप्टरबाट तत्काल उद्धार गर्न नसकेको भन्दै प्रधानमन्त्री गृहमन्त्रीको सामाजिक सञ्जालमा व्यापक विरोध अनि आलोचना भएको छ । तस्बिरहरु : हेलो सरकार
Discussion about this post