काठमाडौं । आदिवासी लिम्बू याक्थुङ समुदायको सामुदायिक संस्था किरात याक्थुङ चुम्लुङले असोज ३ लाई कालो दिन मान्ने भन्दै उक्त दिन च्याब्रुङ सहितको झाँकीमा सहभागी नहुन पनि आह्वान गरिएको छ ।
काठमाडौमा याक्थुङ चुम्लुङको असोज २ गते बसेको संघीय परिषदको सातौं बैठकले निर्णय गर्दै कालो दिन मान्ने र सहभागी नहुन सबैलाई आह्वान गरिएको हो । बैठकको निर्णय सार्वजनिक गर्दै नेपालको संविधान २०७२ हाम्रो सहमती विना नै हामी माथि लादिएको भन्दै असोज ३ लाई कालो दिनको रुपमा लिने जनाएको छ । निर्णयमा जबरजस्त वाध्यतावस संविधान मानिरहेको समयमा संविधान दिवसको नाममा असोज ३ गते याक्युङ/लिम्बु आदिवासीको के (च्याब्रुङ) झाँकीको प्रयोग नर्गन नगराउन र सहभागि समेत नहुन यो बैठक अह्वान गर्दछ भनिएको छ ।
बैठकले विभिन्न प्रस्तावमाथि छलफल गर्दै १९ बुँदामा निर्णय भएको जनाएको छ । बैठकमा मुकुम्लुङमा जबजस्ति बनाउन लागिरहेको केबलकारको विषयमा समेत छलफल भएको छ । केबलकारको नाममा लिम्बू लिम्बू भिडन्त गराउन खोजिएको आरोप लगाएको छ । निर्णयमा मुकुम्लुन छोडाउन छोड्न लगाउने भन्दै सशक्त सङ्घर्ष गर्ने भएको छ । त्यसैगरी प्रदेश १ नाम कोशी गोत्रीय नमा भएको बैठकले निर्णय गरेको छ । मंसिर २ गतेदेखि हुने प्रदेश १ नामाङ्कन बिरुद्धको आन्दोलन सशक्त बनाउन चुम्लुङको प्रतिवद्धता रहेको निर्णय गरेको छ ।
साती केन्द्रीय बैठक काठमण्डौं चुम्लुङ हिम, याक्युङ चोक (भङ्गाल), नेवाः ताम्सालिङ, नेपाल (मिति २०८१ असोज २ गते बुधबार)
पारित प्रस्तावहरु
१. लिम्बुवानको ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ/लिम्बुहरूको मुन्धुमी पवित्रस्थल (सेक्रेट साइट) मुक्कुमलुङमा प्रहरी प्रशानको आडमा केवलकार व्यापारीहरूले लिम्बु लिम्बुको भिडन्त गराउने, सामाजिक सद्भाव विथोल्ने योजना बनाएको प्रति घोर भर्त्सना गर्दछौं। याक्थुङ/लिम्बुहरूको पवित्र भुमी मुकुम्लुङमा देवी देवता माथि-माथि केवलकार कुदाउने योजना तत्काल बन्द गरी मुकुम्लुङ् छोड्न र छोडाउन यो बैठक जोडदार माग गर्दछ । अतिक्रमणकारीहरूले मुक्कुमलुङ नछोडुन्जेल कियाचु ससक्त रुपमा संघर्षमा रहने प्रतिवद्धता दोहऱ्याउँदै आम याक्थुङमा यसको लागि पुनः आव्हान गर्दछ ।
२. मुक्कुमलुङ बचाउनको लागि बनेको संघर्ष समिति ताप्लेजुङ बाहेक इलाम, पान्चर लगायतका जिल्लाहरूमा निर्माण भइसकेकोमा यस्तो संघर्ष समिति ९ वटै जिल्लामा निर्माण गर्दै याक्युङ/लिम्बु आदिवासीको मुन्धुमी, धार्मिक, साँस्कृतिक पवित्र भूमी लगायत ऐतिहासिक स्थलहरु अतिक्रमण गर्ने अतिक्रमणकारीहरू विरुद्ध हुने सवैखाले अतिक्रमण विरुद्ध सबै ठाउँमा संयुक्त रुपमा सशक्त संघर्षमा उत्रने यो बैठक निर्णय गर्दछ ।
३. मुक्कुम्लुङको फेदीमा बसोबास गर्ने, हजारौं दर्शनार्थीहरूलाई चियानास्ता, वासको प्रवन्ध गर्दै आएका होटल व्यवसायीहरूलाई केवलकार कम्पनिको योजनामा अदालतमा मुद्धा हाल्न लगाई सो स्थानबाट उठिबास बनाउने नागरिकको अधिकार हनन गर्ने योजनाको भण्डाफोर गर्दै अन्यायमा परेका जनताको पक्षमा कियाचु अभिने प्रतिवद्धता जाहेर गर्दछ । राज्यको आडमा स्थानीय जनताको व्यापार व्यवसाय खोस्ने र एकल व्यापारी पोस्ने पुँजीवादी प्रवृतिको यो बैठक घोर निन्दा गर्दछ ।
४. एकल साम्प्रदायिक गोत्रीय कोसी प्रदेश नाम खारेजीको आन्दोलन भएको बसौं बित्दा पनि प्रदेश सरकार र संसदले सुनुवाई गरेको छैन। यो सुनुवाई गर्नको साटो तदारुकताका साथ स्थानीय तहहरू र आम जनतामा बजेट नदिने, रकम रोक्ने जस्ता अनेकौं कर्मचारीतन्त्रीय झमेला निम्त्याउँदै कार्यान्वयन तर्फ लगेकाले यो बैठक घोर निन्दा गर्दै यसको उचित उपचार हामी आम प्रदेशवासी जनताले खोज्ने प्रतिबद्धता जनाउँदछौं र यसको विकल्प आन्दोलन नै हुने भएकाले आन्दोलनको आधिबेहरी सिर्जना गर्न सम्पुर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक आव्हान गर्दछौं। यसै सन्दर्भमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्वारा प्रदेशको नाम कोशी खारेजीको लागि २०८१ मङ्सिर २ गते विराटनगरमा विशाल जन प्रदर्शन गर्दै आन्दोलनको दोस्रो चरणको आन्दोलन शसक्त बनाउन कियाचु प्रतिवद्धता जाहेर गर्दै आम याक्थुङहरू यसको लागि सशक्त रुपमा उत्रिनका लागि हार्दिक आव्हान गर्दछौं ।
५.नेपालको सङ्घीय सरकारबाट प्रदेश नं. १ को क्षेत्रधिकारमा रहने गरी हस्तान्तरण गरिएको तथाकथित पाथीभरा क्षेत्र विकास समिति मुक्कुम्लुङ संरक्षण तथा विकास समिति नबनेमा यस समितिलाई स्वीकार्न नसकिने यो बैठक प्रदेश नं. १ सरकारलाई सचेत गराउँदछ ।
६.संघीय एवम प्रदेश संसदमा निर्माणधिन रहेका सबै ऐनहरु आदिवासी मैत्रि हुनु पर्ने यो बैठक जोडदार माग गर्दछ ।
७. प्रदेशको नाम एकल गोत्रीय कोशी नाम खारेजी आन्दोलन, मुक्कुमलुङ आन्दोलन, स्थानीय ताप्लेजुङवासीहरूलाई प्रत्यक्ष प्रभाव पर्ने व्यापारी विकास योजना खारेज गर्न गराउन सबै जात/जाति, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, मधेशी र न्यायका पक्षधर सबै प्रदेशवासी सम्पुर्ण न्यायप्रेमि दाजुभाइ दिदी बहिनीमा सहयोग समर्थन र यस महान अभियानमा लाग्न यो बैठक हार्दिक अपिल गर्दछ ।
८. लिम्बु/याक्थुङ र मैथिली भाषालाई सरकारी कामकाजको भाषा कार्यान्वयनमा लैजान सम्बन्धित् पक्षलाई ध्यानाकर्षण गराउँदै भाषा आयोगले सुझाव गरी निवर्तमान प्रदेश सरकारले विधेयक तयारी गरिसकेकाले यो प्रदेश सरकार र संसदबाट अविलम्ब प्रदेशिक भाषा ऐन जारी गर्न यो बैठक जोडदार माग गर्दछ ।
९. नेपालको संविधानमा स्वायत्त, स्वाशासित र संरक्षित क्षेत्रहरूको व्यवस्था भएपनि वर्तमान संघीय सरकारले सम्बन्धीत् संघीय ऐन निर्माण नगरेकोमा यो बैठक रोष प्रकट गर्दछ । र, अविलम्ब ऐन बनाई स्वायत्त, स्वाशासित र संरक्षित क्षेत्रहरूको व्यवस्था गर्न लिम्बुवान सहित प्रदेश नं. १ र सम्पुर्ण देशका आदिवासी, राजनैतिक, साँस्कृतिक, आर्थिक लगायतका अधिकार प्रत्याभुतिका लागि यो बैठक जोडदार माग गर्दछ ।
१०. लिम्बुवान क्षेत्रका विद्यालयहरूमा भाषा लिपीका प्रचारक शहिद सिरिजङ्गाको शालिक शिक्षाको प्रतिकको रुपमा स्थापना गर्न गराउन यो बैठक माग गर्दछ ।
११. याक्युङ/लिम्बुको सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग बढेकाले यसप्रति सबैको ध्यानाकर्षण गराउँदै यो बैठक रड, सिमेण्ट, फलाम, कंक्रिट ढलान जस्ता बस्तुको प्रयोग ऐतिहासिक सांस्कृतिक स्थलहरूमा नर्गन नगराउन यो बैठक लुमेन्दिङ अनुरोध गर्दछ ।
१२. याक्युङ/लिम्बुका प्रतिक चिन्हहरूलाई गलत रुपमा प्रयोग नगर्न नगराउन यो बैठक अनुरोध गर्दछ ।
१३. याक्थुङ/लिम्बु आदिवासी जनताको किपट भूमि राज्य पक्षबाट विभिन्न खालका वनहरूमा रुपान्तरण गर्ने क्रम चलेकाले यो बैठकमा गम्भिर ध्यानाकर्षण भएको छ। किपट जमिन सम्बन्धित आदिवासी समुदायको संरक्षणमा रहने गरी कानुन परिमार्जन गर्न यो बैठक जोडदार माग गर्दछ ।
१४. किपटकालमा तात्कालीन व्यक्तिहरूले आफ्नो नाममा खोलेका विद्यालयहरू कालान्तरमा हिन्दु देवीहरू (जस्तै भगवती, शिद्धकाली, सिंहदेवी आदि) को नाममा परिवर्तन गरिएकाले पुरानै नाममा पुनःस्थापित गर्न र देवी देवताको नाममा राखिएका विद्यालयको नाम परिवर्तन गर्न गराउन यो बैठक जोडदार माग गर्दछ ।
१५. याक्थुङ/लिम्बु आदिवासीमा ऐतिहासिक व्यत्तित्व, पुर्खाहरूको शालिक बनाउने क्रममा दौरा सुरुवालको प्रयोग भएको पाइएकाले पहिचान झल्कने परम्परागत तागा/मेख्लीको प्रगोग गर्न गराउन यो बैठक लुमेन्दिङ अनुरोध गर्दछ ।
१६. आदिवासी याक्थुङ/लिम्बु महिलाहरूले उत्पादन गरेको परम्परागत ढाका, खाँडी, सिलामसाक्माको प्रयोगमा प्रोत्साहन गर्ने नीति राज्यले अङ्गिकार गर्न र आम जन समुदायमा स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरी यसको उपयोग गर्न गराउन यो बैठक अनुरोध गर्दछ ।
१७. लिम्बुवान भूमिका रैथाने स्थान नामहरू परिवर्तन गर्दै हिन्दु धर्ममा आधारित स्थान नाम राख्ने क्रम तिव्रत्तर कार्य भइरहेकोले स्थान नामहरू स्थानीय आदिवासी रैथाने भाषामा राख्न र राख्न लगाउन यो यो बैठक जोडदार माग गर्दछ ।
१८. नेपालको संविधान २०७२ हाम्रो सहमती विना नै हामी माथि लादिएको भन्दै असोज ३ लाई कालो दिनको रुपमा लिई जबरजस्त वाध्यतावस संविधान मानिरहेको समयमा संविधान दिवसको नाममा असोज ३ गते याक्युङ/लिम्बु आदिवासीको के (च्याब्रुङ) झाँकीको प्रयोग नर्गन नगराउन र सहभागि समेत नहुन यो बैठक अह्वान गर्दछ ।
१९. किरात याक्थुङ चुम्लुङको सातौं केन्द्रीय/संघीय समितिको बैठक सफल पार्न अहोरात्र क्रियाशील व्यवस्थापक जिल्ला कार्य समिति काठमाण्डौं, व्यवस्थापनमा खटिएका कर्मचारी, सम्पूर्ण सल्लहाकारज्यूहरू, जिल्ला अध्यक्ष तथा सचिव वा प्रतिनिधिहरू र उपस्थित सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरुमा यो सातौं केन्द्रीय बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
नोगेन् सेवारो !
निरन्ती तुम्बापो महासचिव
Discussion about this post