धरान । हरेक सेप्टेम्बर १० तारिखको दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिएको अवसरमा धरानमा पनि दिवस मनाएको छ ।
धरान उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघसंस्थाको सहभागितासंगै बजार परिक्रमा गरेर दिवस मनाएका थिए । नगर परिक्रमापछि लोकतान्त्रिक चौतारीमा कोणसभा गर्दै समापन भएको हो । धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बेघाको प्रमुख आतिथ्यमा दिवस सम्पन्न भएको हो ।‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मनाएको हो।
आत्महत्या रोकथाम दिवस सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन मनाइने गरिन्छ। सन् १६४२ मा सर थोमस ब्राउनीले आफ्नो ‘द रिलिजन अफ डाक्टर (रिलिजियो मेडीसी)’ नामक कृतिमा प्रथम पटक सुसाइड भन्ने शब्दको प्रयोग गरेको इतिहास छ । तथ्याङक अनुसार विश्वमा प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने कुरा बाहिर आएको छ । नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने तथ्याङ्ग छ। १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो।
नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले प्रकाशन गरेको तथ्याङ्कमा विगत दश वर्षमा वार्षिक रुपमा औसतमा ५७५२ जनाले आत्महत्या गर्नेगरेको उल्लेख छ। विगत एक दशकको तथ्याङ्कमा आ.व. २०७१/७२ मा वार्षिक ४३३२ जनाबाट आ.व. २०८०/८१ सम्म आइपुग्दा वार्षिक ७२२३ जनाले आत्महत्या गर्ने गरेको उल्लेख छ। आ.व. २०८०/८१ को तथ्याङ्क अनुसार पुरुष ३७२७, महिला २५७३, बालक र बालिका ३३१ र ५९२ ले गर्ने आत्महत्या गरेको तथ्याङ्ग छ ।
तथ्याङ्क अनुसार विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा आत्महत्या भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्याङ्क छ। आत्महत्या गर्ने कुल ३२८७८ जनामा २६६५० जनाले झुण्डिएर गरेको छ । ५६८७ ले विष खाएर र बाँकी अन्य छन। आत्महत्याको लैङ्गिक अवस्था हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
Discussion about this post