धरान । केही दिन अघि खानेपानी व्यावस्थापन बोर्ड र महसुल काउन्टरमा लगाएको ताला खोन उच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।
न्यायाधीश श्री राजेन्द्र अधिकारीको एकल इजलाशले आज अन्तरिम आदेश जारी गर्दै लगाएको ताला खोल्न अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ । विपक्षी नेपाली कांग्रेस धरानका सभापति शयाम पोखरेल समेतको नाममा अन्तरिम आदेश जारी गर्दै साउन २८ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
उच्च अदालतबाट जारी भएका आदेशको पूर्ण पाठ :
इजलाससमक्ष पेश भएको निवेदन बेहोरासहितको मिसिल अध्ययन गरी निवेदकका तर्फवाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ताहरु श्री रमेश बास्तोला, श्री जेके राई साङ्पाङ र श्री अवइन्द्र निरौलाले गर्नु भएको वहससमेत सुनियो।
यसमा, के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? जारी हुनु नपर्ने भए सोको आधार कारण र भए प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र आफै वा आफ्नो कानून वमोजिमको प्रतिनिधी मार्फत लिखित जवाफ पेश गर्नू भनी विपक्षीहरुका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नुः।
निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा, दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा निष्कर्षमा पुग्न मनासिव हुने देखिँदा अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई मिति २०८१।०४।२८ गते छलफलको पेशी तारेख तोकी विपक्षीहरुलाई छलफलको पेशीको जानकारी दिई प्रस्तुत निवेदनमा उठान गरिएको विषय खाने पानी जस्तो मानव जिवनको लागी अत्यावश्यक तथा संवेदनशील विषय रहेकोले मिति २०८१।०४।२८ सम्म घरान खानेपानी व्यवस्थापन बोर्ड कार्यालयमा तालाबन्दी नगर्न नगराउनू, कार्यालयमा लगाएको ताला तत्काल खोली खानेपानीको नियमित सेवा संचालन गर्न दिनु, खानेपानीको व्यवस्थापन, वितरण एवं संचालनमा कुनै अवरोध नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ कोनियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार गर्नु।
न्यायाधीश
इति सम्वत् २०८१ साउन २२ रोज ३ शुभम्
नेपाल संवत् ११४४. गुल्लाथ्व २ मंगलबार
Discussion about this post