सुनसरी । यौनधन्दा सम्बन्धि सार्वजनिक सुनुवाईमा अभिव्यक्ति दिएपछि भएको विवादमा सञ्जिता धमलामाथी आक्रमणको आरोपमा पक्राऊ गरिएका ७ जनालाई सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्न भएको भन्दै धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान १९ की ३४ वर्षीय मुना राई, धरान १७ की ५६ वर्षीय प्रमिला राई, धरान ११ की ४५ वर्षीय शर्मिला राई, धरान १ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान १७ की ४० वर्षीय पूर्ण वान्तावा राई र ३५ वर्षीय सिर्जना बेघालाई सार्वजनिक गरिएको छ । सात जना मध्ये ५ जनालाई घटना स्थलबाट पक्राउ गरिएका थिए । सिर्जना बेघा र पूर्ण बान्तावालाई बिहीबार बिहान पक्राउ गरिएको हो ।
आक्रमणमा संलग्नलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिई कारवाही अगाडि बढाएको बुझिएको छ । घटनामा संलग्न अन्यलाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
सार्वजनिक सुनुवाईमा धमलाले पहाडबाट पढ्न आएका एक विद्यार्थी यौनधन्दामा लागेको भन्ने अभिव्यक्तीले समग्र पहाडबाट अध्ययनका लागि धरान आउने महिला दिदीबहिनीको अपमान गरेको भन्दै कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा उजुर दिएका थिए । तर प्रहरीले कारवाही अगाडि नबढाएको भन्दै इलाका प्रहरी कार्यालय अगाडि नाराबाजी तथा लोकतान्त्रिक चौतारीमा दुईपटक भण्डाफोर कार्यक्रममा गरी प्रशासनलाई दवाव दिएका थिए । धमलाले आफू असुरक्षित रहेको भन्दै प्रशासनमा निवेदन दिएका थिए ।
बुधबार उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा धमला पुग्दा कारवाहीको माग गर्ने महिला समूहसँग भेट भएपछि अस्पताल भित्र लछारपछार गरी आक्रमण गरेको भन्दै धमलाले उजुर गरेपछि पक्राउ भएको प्रहरीले जनाएको छ ।
#यौनधन्दा अभिव्यक्ति काण्ड
Discussion about this post