कोशी नाम खारेजी आन्दोलन मंसिरदेखि हुने
ताप्लिजोङ । प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी आन्दोलन आगामी मङ्सिरदेखि गरिने भएको छ ।
संघर्ष समितिले ताप्लिजोंगमा असार १ र २ गते सम्पन्न बैठकले मंसिर २ गते विशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकले ११ बुँदा निर्णय सार्वजनिक गरिएको छ । प्रदेश सरकार र सभाले हालसम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनीभूत तयारीको साथ अगाडि बढाउने भएको छ ।आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र त्यसका नेताहरू अग्रसर नदेखिएकोहुँदा संघर्ष समितिले पारित गरेको रणनीतिक योजना अनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यासको विकास गर्नेबारे आवश्यक अध्ययन र ठोस तयारी गर्ने निर्णय पनि सार्वजनिक गरिएको छ ।
संघर्ष समिले पारित गरेको आठ बुँदे निर्णयहरु :
१) प्रदेश सरकार र सभाले हालसम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनीभूत तयारीको साथ २०८१ मंसिर २ गते आइतवार बिराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरुगर्ने निर्णय गरिएको छ ।
२) कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनःनामाङकन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र त्यसका नेताहरू अग्रसर नदेखिएकोहुँदा संघर्ष समितिले पारित गरेको रणनीतिक योजना अनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यासको विकास गर्नेबारे आवश्यक अध्ययन र ठोस तयारी गर्ने निर्णय गरियो ।
३) कोशी नाममा भोट दिने ८२ प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिक गालि दिने ३ जना नेताहरुलाई दवाव दिन उनीहरूको परिवार तथा नातागोताहरुलाई अनुरोध गर्ने र भावना विपरित भोट दिएको कारण जनता आक्रोशित भएको कारण प्रदेश सभा सदस्यहरुलाई सार्वजनिक कार्यक्रमहरुमा निमन्त्रणा नगर्न नगराउनुहुन सबै पक्षसँग अनुरोध गर्ने निर्णय गरियो ।
४) प्रदेश सरकारले गठन गरेको तथाकथित शान्ति टोलिको सम्बन्धमा कोशीको प्रस्तावक राम रानामगरकै नेतृत्वमा बार्ता टोली गठन गर्नु खेदजनक छ । निष्कर्षमा पुग्ने गरी वार्ता गर्ने हो भने बहुमत पुग्ने गरी अस्तित्वमा रहेका दलका नेताहरुसहितको मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने निर्णय गरियो ।
५) इलाम उपनिर्वाचन सिकाइसहितको पहिचान मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेश व्यापि प्रशिक्षण, संगठन विस्तार र सुद्धिकरण अभियान असार १५ देखि कार्तिक १५ गतेसम्म संचालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय गरियो ।
६) तेश्रो जनआन्दोलन र पहिचान मुद्दालाई शसक्त बनाउन मुद्दा मिल्ने राजनीतिक दल र संस्थाहरूलाई मोर्चावन्दी वा संगठित गर्न रामभक्त कुरुम्बाङको संयोजकत्वमा कृष्ण चोङवाङ, पदम अधिकारी, युवराज राई र राम मादेन रहेको कार्यदल बनाउने निर्णय गरियो ।
७) प्रदेश नं. १ को आन्दोलनको क्रममा एक बर्ष अधिदेखि इलाममा थुनामा रहेका हस्त बहादुर लिम्बू ( आशिष साँवा) को रिहाइको लागि थप पहल गर्न पहिचानसहित प्रदेश नं १ पुनः नामाङकन अभियान
८). प्रदेश नं. १ मा रहेका थातथलो खुलेका र नखुलेका समुदायहरूसँग सम्वाद गर्ने निर्णय गरियो । यसको लागि पदम अधिकारीको संयोजकत्वमा निरन्ती तुम्बापो, केदार धिमाल, मन्जु सोताङ राई र पदम जवेगुलाई जिम्मेवारी दिने निर्णय गरियो ।
९) ल्हासा-कोशी लोकमार्गको धरानदेखि धनकुटाको हिले खण्डलाई राम्लिहाङ, रिदामा लोकमार्ग घोषणा गर्ने निर्णय गरियो । यसका तयारीको लागि कृष्ण चोडवाडको संयोजकत्वमा पदम अधिकारी, विरेन्द खारा, संजय सन्तोषी राईलाई जिम्मेवारी दिने निर्णय गरियो ।
१०) मुन्धुमीस्थल मुक्कुमलुङमाथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि हाल संघर्षरत मुक्कुमलुङ ताःडसेप फाःसिङ चुम्भोसँगै प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले संयुक्त रुपमा संघर्ष गर्ने सर्बसम्मत निर्णय गरियो । मुक्कुमलुङमा पूजा व्यवस्थापनको लागि फेदाङमा ( पुजारी) र सेवासावा नियुक्त गर्ने घोषणा र केबलकार खारेज गर्ने निर्णयलाई संयुक्त रुपमा प्रतिवद्धताकासाथ कार्यान्वयन गर्ने निर्णय गरियो। यसको साथै मुन्धुमी मूल्यमान्यता र परम्परावमोजिमको सांस्कृक्तिक पर्यटकीयस्थलको विकास अवधारणा निर्माण संयोजन गर्न डा. महेन्द्र लावतीलाई जिम्मेवारी दिने निर्णय गरियो ।
११) इलाम २ को उपचुनाबबाट एकल जातिवादी सत्तालाई चुनौति दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको, मत परिणामलाई सकारात्मक रहेको समीक्षा गरियो । निर्वाचनमा सहयोग गर्नुहुने मतदाता र देश विदेशबाट आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुहुने प्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
Discussion about this post